बजार अनुमगनमा १२ सय फर्म कारबाहीमा, १ करोड ५० लाख ८६ हजार जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको हालसम्म १२ सय फर्मलाई काराबाही गरेको छ ।

विभागले हालसम्ममा १ हजार २०१ वटा फर्महरूलाई कारबाही दायरामा ल्याई १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागका महानिर्देशक लिलाप्रसाद शर्माले चालु आर्थिक वर्षको हालसम्म कुल २७ सय १३ फर्ममा अनुगमन गरेको बताए । त्यसमध्ये १२ सय १ फर्मलाई नियम विपरीत कार्यमा संलग्न भएकाले जरिवाना र कैफियत देखिएको थियो ।

उनका अनुसार जेठ महिनाको २५ गतेसम्म २७६ फर्मलाई अनुगमन गरी १६ लाख रुपैयाँ र वैशाख महिनामा ३०२ फर्मलाई अनुगमन गरी १६ लाख ३५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

त्यसैगरी २०७८ को चैत महिनामा विभिन्न १५१ फर्महरुलाई अनुगमन गरी २१ लाख ४० हजार र फागुन मसान्तसम्म विभिन्न १९ सय ७९ फर्मलाई अनुगमन गरी ९७ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको समेत महानिर्देशक शर्माले जानकारी दिए ।

विभागले हाल अत्यावश्यकीय उपभोग्य वस्तुसहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्म तथा क्षेत्रमा अनुगमन केन्द्रित गरेको उनले बताए ।

‘विभिन्न समस्याका बाबजुत विभागको एकल तथा संयुक्त अनुगमन उल्लेख्य रुपले बढेको छ,’ महानिर्देशक शर्माले भने, ‘हाल प्रक्रियामा रहेको संयुक्त अनुगमन निर्देशिका स्वीकृत भएपछि यो कार्य अझै प्रभावकारी हुने अपेक्षा गरेका छौं ।’

महानिर्देशक शर्माले विभागले एक्लै तथा नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, वातावरण विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालयसहित संयुक्त रुपमा समेत अनुगमन भइरहेकाले जानकारी दिए ।

विभागले व्यापारीहरुलाई अनुचित व्यापारिक क्रियाकलापमा नलाग्न पटक पटक अनुरोध गर्नुका साथै आम उपभोक्तालाई पनि त्यस्ता क्रियाकलाप भएको पाइएमा पैसा नलाग्ने टोल फ्री नं. ११३७ मा जानकारी दिन अपिल गरिरहेका उनको भनाइ छ ।


क्लिकमान्डु