काठमाडौंमा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने व्यवस्थाले खरिद लागत बढ्ने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गामा ४ आना १ दामभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग नियामवाली जारी गर्दै काठमाडौं उपत्यकामा १३० वर्गामिटर (४ आना १ दाम) वर्गमिटरभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको हो ।

सरकारले काठमाडौं मात्रै नभएर अन्य आवासीय क्षेत्रमा ५ सय मिटरभन्दा सानो कित्ताको हकमा चौडाईभन्दा लम्बाई ४ गुणा बढी हुने गरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई ५ सय वर्गमिटर क्षेत्रफलभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न पाइने छैन । साथै, तराई र भित्री मधेशमा रहेको कृषियोग्य जग्गा तोकिएको क्षेत्रमा ६७५ वर्गमिटरभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न पाइने छैन ।

तर, कुनै कित्ताको आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्ताबाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलान गर्न उपयुक्त देखिएमा मिलानका लागि कित्ताकाट गर्न भने सकिनेछ ।
उपत्यकामा पछिल्लो समय उच्च कित्ताकाट र कारोबार हुँदै गएपछि घरजग्गा कारोबारमा कडाइ गर्दै लगेको छ । सोही समयमा सरकारले भूउपयोग नियामवली मन्त्रिपरिषदबाट पास भई कार्यान्वयनमा ल्याएको छ ।

नयाँ व्यवस्था अनुसार ४ आना १ दामभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने भएपछि जग्गा खरिद गर्ने लागत बढ्ने भएको छ ।

सबैको बसोबासको केन्द्र बनेको उपत्यकामा सामान्यतया साढे २ आनाको जग्गामा समेत घर बनाउने प्रचलन छ । सामान्यभन्दा सामान्य मानिसको काठमाडौंमा जग्गा खरिद गरी घर बनाउने सपना बोकेको हुन्छ । अधिकांश मानिसले काठमाडौंमा २ आना मात्रै भएपनि जग्गा खरिद गर्ने सपना बोकेर जीवनभर दुःख गर्ने गर्छन ।

त्यस्तै, कुनै व्यक्तिहरूले धेरै जग्गा खरिद गर्ने क्षमता नभएको खण्डमा २ आना पनि जग्गा किन्ने गरेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार कम जग्गामा पनि मानिसहरूले ३÷४ तल्लासम्म घर बनाउने गर्दछ । जसले गर्दा पार्किङ, खुल्ला ठाउँलगायत अन्य विविध समस्या भोग्न बाध्य छन् ।

काठमाडौं उपत्यकामा कम जग्गामा अग्लाअग्ला भवन बनाएको धेरै देख्न सकिन्छ । कतिपय मानिसहरूले २ आना जग्गामा पनि अग्ला भवन बनाएको बनाएका छन् । जसले गर्दा जग्गामा खर्च कम हुने गर्दथ्यो ।

मानौं, विगतका दिनमा कुनै पनि व्यक्तिले आनाको २० लाख रुपैयाँको दरले साढे २ आनालाई ५० लाख रुपैयाँ खर्चेर सहजै घर बनाउन सकिन्थ्यो । कुनै व्यक्तिले जग्गामा कम खर्च गर्ने सोच बनाएको अवस्थामा २ आनामा पनि घर बनाउन सकिन्थ्यो ।

तर, अबका दिनमा ४ आना १ दामभन्दा कम कित्ताकाट गर्न नमिल्ने भएकाले एउटा घर बनाउनका लागि आनाको २० लाखको दरले ८० लाख बढी खर्च गर्नुपर्ने हुन्छ । सरकारले आवासीय क्षेत्रका सो क्षेत्रफल तोकेसँगै एउटा घर बनाउनका लागि कम्तीमा पनि ९० लाखको हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ । जसमा विगतको दिनको तुलनामा जग्गा खरिदमा करिब दोब्बरले लागत बढ्ने भएको छ ।

सरकारले लागू गरेको नयाँ नियमावलीले जग्गा खरिदमा लागत बढ्ने भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै नभएर अन्य क्षेत्रमा पनि जग्गा खरिदमा सर्वसाधारणको लाग बढ्ने भएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो समय उच्च रुपमा कित्ताकाट गरी बिक्री वितरण भइरहेको हुनाले सरकारले व्यवस्थित बनाउनका सो नियामवली जारी गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कित्ताकाट गरी प्लट मिलान गर्दा सम्बधित कित्तामा नै गाभ्नुपर्छ । तर, क्षेत्रफलमा नघट्ने गरी जग्गाको कित्तकाट गर्न सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछन् ।

साथै, कुनै निश्चित क्षेत्र वा स्थानमा फरक मापदण्ड वा आधार निर्धारण गरी लागू गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मापदण्ड वा आधार निर्धारण गर्न सक्नेछ ।


क्लिकमान्डु