काठमाडौंबाट डाइभर्ट भएका भारतीय विमान भैरहवा नगएर लखनउ किन गए ?



काठमाडौं । जेठ १ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएका दिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौंको विमानस्थलको विकल्प भएको बताएका थिए ।

अर्थात् उनको भनाइ थियो, ‘कुनै कारणवश काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण हुनसक्छन् ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि जजिरा एयरवेजले साताको तीन दिन भैरहवा कुवेत उडान पनि गरिरहेको छ । तर, प्राधिकरणका महानिर्देशक अधिकारीले भने जसरी काठमाडौं अवतरण हुन नसकेका विमान भने भैरहवामा अवतरण भएनन् ।

बुधबार भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौंका लागि उडान भरेका इन्डिगो र भिस्तारा एयरका विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मौसम खराब भएपछि डाइभर्ट भए ।

विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौंमा कुनै अवरोध भए विमानहरु भारतको पटना र लखनउमा अवतरण हुन्थे ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पनि काठमाडौंमा मौसम खराब भएपछि दुई भारतीय विमान लखनउमा अवरतण भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर काठमाडौंको मौसम खराब भएपछि इन्डिगो एयर र भिस्तारा एयरको विमानलाई भैरहवा, पटना वा लखनउमा अवतरण गर्न भनिएको बताउँछन् ।

‘हामीले तीनवटै विमानस्थलमा अवतरण गर्न सकिने जानकारी गराएका थियौं,’ ठाकुरले भने,‘ तर, विमानले आफूलाई उपयुक्त लागेको ठाउँमा अवतरण गर्छन् ।’

तर, भारतले भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्वीकार नगरेकाले भारतीय वायुसेवा कम्पनी लखनउ उडेको नेपाल नागरिक उड्डयन प्राधिकरण निकट स्रोतको भनाइ छ ।

‘हामीले सिमारामा विमान पुग्दा काठमाडौंको मौसम खराब भएको जानकारी गराएका थियौं,’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘तर, २० मिनेटमा पुगिने भैरहवामा अवतरण नगरेर १ घण्टामा उडेर लखनउ जानुले भैरहवा विमानस्थलप्रति भारतीय वायुसेवा कम्पनी सकारात्मक नभएको बुझिन्छ ।’

त्यसो त प्राधिकरण नेतृत्वले भैरहवामा विमानस्थलमा नियमित उडान गराउने र भारतका गन्तव्यसँग जोड्ने विषयमा प्रयास गरेको देखिएको छैन । भैरहवामा विमानस्थलमा कुनै पनि विमान अवरतण गर्दा भारतको हवाई क्षेत्रमा समेत विमान उड्नु पर्ने हुँदा भैरहवालाई व्यवसायीकरुपमा सञ्चालन गर्न भारतको सहमति आवश्यक हुन्छ ।

आज लखनउ डाइभर्ट भएका दुबै विमान काठमाडौंको मौसममा सुधार भएपछि लखनउबाट उडिसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुरले जानकारी दिए ।


क्लिकमान्डु