गगन थापाको प्रश्न- समयमै किसानलाई मल नदिने अनि सीमापारीबाट किनेर ल्याउनेलाई कुटेर बहादुरी देखाउने ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयमै मल ल्याउन नसक्नुको कमजोरी सबै राजनीतिक दलको भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मल ल्याउन नसक्नु अहिलेको समस्या नभएर लामो समयदेखिको समस्या भएको भन्दै यसप्रति गम्भीर बन्नुपर्ने बताए ।

उनले यो वर्र्षौदेखिको समस्या भए पनि समस्या समाधान गर्न नसकिएको भन्दै आगामी वर्र्षदेखि यस्तो समस्या दोहोरिन नदिनका लागि त्यसतर्फ लाग्नुपर्ने बताए ।

‘सरकारले समयमै मल दिन नसक्ने अनि सीमाना पारीबाट मल किनेर ल्याउनेलाई कुटेर बहादुरी देखाउँछौं,’ उनले भने ।

उनका अनुसार प्राविधिकरुपमा हामीलाई १२ लाख ९७ हजार मेट्रिक टन आवश्यक हुन्छ ।

त्यसमध्ये पनि तत्कालका लागि ५ लाख २० हजार मेट्रिक टन मल अत्यावश्यक छ । जेठ र असार महिनामा २ देखि ३ लाख मेट्रिक टन मलको माग हुन्छ ।

उनले मल अभावको समस्या समाधानका लागि कारखाना खोल्ने हो भने तत्कालै शुरु गर्नुपर्ने बताए ।

उनले कृषि मन्त्रालयले असार मसान्तसम्म १ लाख ९२ हजार मेट्रिक टन मल ल्याउने दाबी गरे पनि त्यो आउन नसक्ने बताए

‘अहिले हामीसँग ७ हजार मेट्रिक टन मल मौज्दात छ, ६०÷७० हजार मेट्रिक टन आउँदै छ भनिएको छ,’ उनले भने, ‘तर दैनिक २ हजार मेट्रिक टनका दरले असार मसान्तसम्म मल आयात हुन सक्दैन ।’


क्लिकमान्डु