रूस र युक्रेन युद्धले नेप्से परिसूचक घट्यो, ४ महिनामा वैदेशिक श्रमिकलाई आइपीओमा आरक्षणको व्यवस्था हुन्छः सेबोन



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले चार महिनाभित्र एसएमई सिस्टम र वैदेशिक रोजगारीमा रहेको श्रमिकहरुलाई प्राथमिक साधारण सेयर (आइपीओ)मा आरक्षणको व्यवस्था हुने बताएका छन् ।

सेबोनको ३०औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै हमालले सरकारले लिएको नीति कार्यान्वयन गर्दै चार महिनाभित्र उक्त व्यवस्था गर्ने बताए ।

उनले समग्र धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता क्रमशः जनशक्ति सबलिकरण नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगमा जोड दिने बताए ।

पछिल्लो समय अन्तराष्ट्रिय मूल्यवृद्धि, रूस र युक्रेनको द्वन्द्व र आन्तरिक बजारमा तरलता अभावका कारण नेप्सेको सूचकांकमा संकुचन आएको बताउँदै लगानीकर्ताहरूको हकहित संरक्षणका लागि धितोपत्रले विभिन्न कार्य अगाडि बढाएको बताए ।

उनले बोर्डको कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्वस्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्समा आधारित बनाउने बताए । यसले बजारमा हुने चलखेल र अनुचित क्रियाकलाप निरुत्साहित गर्ने उनीहरुको विश्वास छ ।

उनले बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक
क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याइने समेत बताए ।

साथै, समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने कार्य बोर्डको प्राथमिकता रहेको बताए ।


क्लिकमान्डु