कनेक्ट आइपीएसको भुक्तानी निरन्तर उकालोमा, वैशाखसम्म ७८ प्रतिशतले वृद्धि



काठमाडौं अनलाइन भुक्तानी सेवा तीव्ररुपमा बढिरहेको बेला नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले सञ्चालन गरेको कनेक्ट आइपीएसको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । एनसीएचएलले कनेक्ट आइपीएसको सेवा शुरु गरेदेखि निरन्तररुपमा यसको प्रयोगमा वृद्धि भइरहेको छ ।

एनसीएचएलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष वैशाख महिनाको तथ्यांकअनुसार कनेक्ट आइपीएसको ७८ प्रतिशतले वृद्धि भएको छ ।

यसअघिको वर्ष २०७६/७७ को यही अवधिको तुलनामा गत वर्ष २०७७/७८ मा ५६५ प्रतिशतले यसको कारोबारमा वृद्धि भएको थियो ।

त्यस्तै, २०७५/७६ बाट २०७६/७७ मा आइपुग्दा यही अवधिमा १४४१ प्रतिशतले कनेक्ट आइपीएसको कारोबारमा वृद्धि भएको थियो ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा इलेक्ट्रोनिक चेक क्लियरिङ (इसीसी) र आरटीजीएसको कारोबारमा सामान्य वृद्धि भएको छ भने आइपीएसको कारोबार घटेको छ ।

चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा कनेक्ट आइपीएसको कारोबार २४ खर्ब ३४ अर्ब ७ सय ५७ पुगेको छ । कारोबार संख्याको हिसाबले हेर्दा ३ करोड १८ लाख ४४ हजार पुगेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा १३ खर्ब ६५ अर्ब ६० करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यो वर्ष १ करोड ८९ लाख ८० हजार कारोबार संख्या थियो ।

इसीसी, आइपीएस, कनेक्ट आइपीएसको समग्र कारोबार संख्यामा वृद्धि भएको छ तर कारोबार रकम भने घटेको छ । यस वर्षको बैशाखसम्म इसीसी, आइपीएस, कनेक्ट आइपीएसको कोरोबार संख्या ५ करोड ७० लाख ८४ हजार पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड ४७ लाख ६८ हजार रहेको थियो ।

कारोबार संख्यामा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । चालु आवको बैशाखसम्म इसीसी, आइपीएस, कनेक्ट आइपीएसको कारोबार रकम १२८५२१७० मिलियन रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा १३०४२९६२ मिलियन रुपैयाँ थियो । यस वर्ष कारोबार रकममा १.४६ प्रतिशतले घटेको छ ।

विभिन्न क्षेत्रमा डिजिटल कारोबार बढे पनि राजश्व भुक्तानी भने खासै वृद्धि हुन सकेको थिएन । चालु आर्थिक वर्षमा भने राजश्व भुक्तानीमा पनि उल्लेख्य वृद्धि भएको एनसीएचएलले जनाएको छ ।

चालु आर्थिक वर्षमा भने गत वर्षकोभन्दा शतप्रतिशत भुक्तानी बढ्ने एनसीएचएलको अनुमान छ । यस वर्षको ६ महिनासम्म राजश्व भुक्तानीका लागि ७ लाख १४ हजार ७४ कोरोबार संख्या भइसकेको छ । उक्त कारोबार संख्याबाट १२ अर्ब रुपैयाँ भुक्तानी भएको हो ।

एनसीएचएलले कनेक्ट आइपीएसबाट हुने कारोबारमा शतप्रतिशत वृद्धि भएको बताएको छ ।


क्लिकमान्डु