दक्षिण कोरियामा मौसमी कामदार पठाउन रोक



काठमाडौं । सरकारले दक्षिण कोरियामा भगिनी सम्बन्ध कायम गरी कृषि क्षेत्रमा मौसमी कामदार पठाउन रोक लगाएको छ ।
संघीय मामिला तथा न्याय मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्दै मौसमी कामदार पठाउन रोक लगाएको हो ।

नेपालको संविधानतः वैदेशिक रोजगार व्यवस्थापन संघीय सरकारको कार्यक्षेत्र भित्र रहेको र हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाउने कार्यको नियामक, कल्याणकारी र व्यवस्थापकीय कार्यहरु भइरहेको हँुदा प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७५ बमोजिम स्थानीय तहहरुलाई सो अधिकार नदेखिएको हुँदा स्थानीय तहलाई कामदार नपठाउन पत्राचार गरेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीमा नेपाली नागरिकलाई पठाउँदा उक्त मन्त्रालयले हरेक देशकालागि छुट्टाछुट्टै लागत र सेवा शुल्कको नीति लिएको छ । सरकारले सकभर रोजगारदाताकै तर्फबाट आतेजाते हवाइजहाज, निशुल्क प्रवेशाज्ञालगायतका विषयहरू सुनिश्चित भएपछि मात्र श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ ।

प्रस्तावित भगिनी सम्बन्ध कायम गर्ने र सो अनुरुप मात्रै नेपाली नागरिकलाई दक्षिण कोरिया पठाउने विषय बेग्लाबेग्लै रहेको हुँदा वैदेशिक रोजगारीका लागि भगिनी सम्बन्ध कायम गर्नु कानूनी र व्यवस्थापकीय दृष्टिकोणसमेत अनुपयुक्त देखिएको मन्त्रालयको भनाइ छ ।

वैदेशिक रोजगारीका अवसरहरू प्राप्त भएपछि प्रचलित वैदेशिक रोजगारी सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगले प्रमाणिकरण गरेर वैदेशिक रोजगार विभागमा रहेको फरेन इम्प्लोइमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम (एफइआइएमएस) मा प्रविष्ट गरेपछि मात्र प्रक्रिया प्रारम्भ हुने प्रचलित व्यवस्था रहेको छ ।

नेपालबाट दक्षिण कोरियामा रोजगारीका लागि सहजीकरण गर्न हाल इम्प्लोइमेन्ट परमिट सिस्टम (इपीएस) प्रणाली सक्रिय रहेको र सो अन्ुरुप कोरियाका कृषि क्षेत्रमा समेत ठूलो संख्यामा नेपालीहरूलाई रोजगारी प्राप्त भइरहेको छ ।


क्लिकमान्डु