चन्द्रागिरिमा क्यूआर कोडमार्फत् राजस्व सङ्कलन शुरु



काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरपालिका र वडाको राजस्व सङ्कलनका लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग गर्न शुरुवात गरेको छ ।

यसका लागि उसले ‘क्यूआर कोड’ मार्फत पनि राजस्व सङ्कलन प्रारम्भ गरेको छ ।

यससँगै यही जेठ महिनाभित्र नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएसलगायतका अनलाइन सेवामार्फत् शुरु हुनेछ ।

नगर तथा वडाका सेवाग्राहीलाई एसएमएसमार्फत् सुसूचित गर्ने कार्य पनि तत्कालै शुरु हुने नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘क्यूआर कोड’ सेवाको शुभारम्भ गर्दै नगरपालिकाले निर्माण गरी हस्तान्तरणको चरणमा रहेको जिपिएस÷ जिआइएस प्रणालीको नगर प्रोफाइललाई यस अनलाइन सेवासँग जोडिने कार्य पनि यथाशीघ्र सम्पन्न हुने जानकारी दिए ।

‘यसपश्चात् नगरवासीले सम्पूर्ण सेवा अनलाइनमार्फत् घरमै बसी उपभोग गर्न सक्दछन्,’ उनले भने ।

आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेअनुसार नगरपालिकामा प्रविधियुक्त सुशासन कायम गर्न यस किसिमको अनलाइन सेवाले अहम् भूमिका हुने नगरप्रमुख गिरीले बताए ।


क्लिकमान्डु