कृषकलाई समयमा नै मल नदिने मन्त्रीलाई कारबाही गर्न माग



काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले कृषकलाई समयमा नै मल नदिने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसद राजभण्डारीले यस्तो माग गरेका हुन् । किसानलाई समयमा नै मल नदिने मन्त्री लगायत यसमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा राम्रो बजेट विनियोजन गरेको भएपनि किसानले समयमा नै मल नपाउनु निकै चिन्ताको विषय भएको राजभण्डारीको भनाइ छ ।

सांसद राजभण्डारीले सरकारले आगामी आवको बजेटमा निर्यातका लागि दिएको इन्सेन्टिम निकै स्वागतयोग्य भएको बताए ।
सरकारले आगामी आवको लागि विनियोजन गरेको बजेटलाई नीजि क्षेत्रले स्वागत गरेको भन्दै यसमा प्रतिपक्षीले विरोध गर्नुको कुनै अर्थ नरहेको उनको बुझाइ छ ।

बैठकमा उनले बजेटमा नै १० लाख पर्यटक ल्याउने लक्ष्य राख्नु प्रभावकारी भएको बताए । पोखरा विमानस्थल बनेपछि नेपालको हवाई यातायात बढ्ने, भारतबाट आउने पर्यटक बढ्ने भएकाले पनि नेपालमा पर्यटकको सम्भावना निकै रहेको उनको बुझाइ छ ।

सांसद राजभण्डारीले बिचाराधिन रहेका विद्येयक समयमा नै संसदमा ल्याउन सरकारलाई आग्रह गरेका छन् । उनले पश्चिम सेती र बुढी गण्डकीलाई समयमा नै कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।

तरलताको व्यवस्था, राजस्व बढाउन तर्फ सरकारले ठोस रुपमा ल्याउन नसकेको भन्दै यसको व्यवस्था मौद्रिक नीतिमा ल्याउन आग्रह गरे । ऋण असुली आयोगले फसेको ऋण उठाउन नसक्दा पनि बैंकमा तरलता अभाव भएको देखिएको उनको तर्क छ ।


क्लिकमान्डु