सम्पत्ति शुद्धिकरणसम्बन्धी प्रतिवेदन तोकिएको मितिमा पेश गर्न बीमा समितिको निर्देशन



काठमाडौं । बीमा समितिले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापसम्बन्धी प्रतिवेदन तोकिएको मितिमा पेश गर्न निर्देशन दिएको छ ।

समितिले निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो निर्देशन दिएको हो ।

कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापसम्बन्धी प्रतिवेदन तोकिएको मितिमा समितिमा पेश गर्न निर्देशन दिए ।

निर्देशक लालले परिपालन अधिकृतहरूले कम्पनीमा बीमा ऐन, नियम र समितिबाट जारी निर्देशिका, निर्देशन एवम् परिपत्र अनुरूप काम भएको छ छैन र समस्याहरू के के छन् भन्ने बारेमा तथ्यपरक ढङ्गले उल्लेख गरी समस्या समाधानको कार्ययोजना सहित परिपालन प्रतिवेदन पेश गर्नुपर्ने बताए ।

निर्देशक लालले बीमा क्षेत्रमा सम्पत्ती शुद्धिकरणको जोखिमलाई ध्यानमा राखेर पर्याप्त काम भएको नपाइएकाले त्यस्तो जोखिमलाई समेत विशेष ध्यान दिई सम्पत्ति शुद्धिकरणतथा आतङ्कवादी क्रियाकलापसम्बन्धी प्रतिवेदन तयार गरी सम्बद्ध निकायमा समेत जानकारी दिन निर्देशन दिएका हुन् ।

कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवम् उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धी प्रस्तुती दिएका थिए ।

परिपालन प्रतिवेदनमा कम्पनीका काम कारवाहीका साथै कमी कमजोरी समेत प्रष्टसँग उल्लेख गर्न र सञ्चालक समितिबाट स्वीकृत गरेर मात्र समितिमा पेश गर्न सापकोटाले आग्रह गरे ।

समितिका उपनिर्देशक (कानून) हृदयश्वर पण्डितले बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणको जोखिमका आधारमा जोखिम विश्लेषण गर्न र शंकास्पद कारोवार पहिचान गरी सम्बद्ध निकायमा समेत जानकारी दिन आग्रह गरे ।


क्लिकमान्डु