झम्सिखेलको चिकेन स्टेसनले मेयर बालेन शाहको सपोर्टमा सित्तैमा खुवायो १२ सय बर्गर



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएको खुसियालीमा र उनको सहयोगका लागि भनेर चिकेन स्टेसनले मंगलबार १२ सय जनालाई बर्गर खुवाएको छ ।

चिकेन स्टेसनको मुख्य शाखा झम्सिखेलले मंगलबार मेयर बालेनको सहयोगको सन्देश दिन नि:शुल्क बर्गर खुवाउने घोषणा गरेको थियो ।

उक्त घोषणापछि मंगलबार १२ सय बर्गर सित्तैमा खुवाएको चिकेन स्टेसन सञ्चालक निकेश ताम्राकारले बताए ।

‘हामीले ४ सयको हाराहारीमा बर्गर जान्छ होला भन्ने अनुमान गरेका थियौं,’ निकेशले भने, ‘सोचेभन्दा धेरै भिड भयो ।’

मंगलबार झम्सिखेल चिकेन स्टेसनमा दिनभर बर्गर खानेको भिड भयो । बर्गर खानेको लाइन बाहिर सडकसम्म पुगेको थियो । विद्यार्थीहरुको चाँप धेरै भएको चिकेन स्टेसनले जनाएको छ ।

सामान्य त एक बर्गरको मूल्य १४० रुपैयाँ पर्छ ।

‘काठमाडौं महानगरपालिकाको प्रमुख जस्तो पदमा ३२ वर्षे युवा निर्वाचित हुनु ठूलो कुरा हो,’ ३४ वर्षे निकेशले भने, ‘हामी युवाले युवालाई काम गर्ने हौसला र सहयोग छ भनेर सन्देश दिन यो अफर दिएका थियौं ।’

स्वतन्त्ररुपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उमेदवार दिएका बालेन साहले ठूलो अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका थिए । सोमबार साहले पदभार ग्रहण गरिसकेका छन् ।

३४ वर्षे निकेशले चार वर्षअघि झम्सिखेलबाट चिकेन स्टेसन शुरु गरेका थिए । अहिले यसको शाखा ४५ पुगिसकेका छन् । यी फ्रेन्चाइजमा ५ सयभन्दा धेरैले काम गर्छन भने उनी आफैले चलाएको सेन्टर किचन र झम्सिखेलमा गरेर ५० जनाले रोजगारी पाएका छन् ।


क्लिकमान्डु