तयारी नभएका आयोजनामा बजेट छुट्याउने प्रवृत्ति हटाएका छौंः अर्थमन्त्रालयका सल्लाहकार उप्रेती

168
Shares

काठमाडौं । अर्थमन्त्रालयका सल्लाहकार सुरेन्द्र उप्रेतीले संघीयतालाई बलियो बनाउने गरी बजेट निर्माण गरिएको दाबी गरेका छन् ।

‘भौतिक पूर्वाधार मन्त्रालयमा २०÷२५ लाख रुपैयाँका १४ सय आयोजना थिए । प्राविधिकको अभावले आयोजना कार्यान्वयन भएन,’ उप्रेतीले भने, ‘त्यस्ता आयोजना स्थानीय तहले निर्माण गर्न सक्छन। त्यसैले साना आयोजना स्थानीय तहमा हस्तान्तरण गरेको छौं ।’

उनले स्थानीय तहले प्राविधिक जनशक्ति अभाव भए कर्मचारी करारमा नियुक्त गर्न सक्ने बताए ।

सरकारले ठूला र अर्थतन्त्रमा भ्यालू एड गर्न आयोजनामा बजेट बिनियोजन गरिएको उनको दाबी छ ।

‘संघीयता र कार्य विस्तृतिकरणको मर्मअनुसार ठूला आयोजनामा संघीय सरकारले बजेट बनाएको छ,’ उप्रेतीले भने, ‘बजेट्ले निजी क्षेत्रसँगको सहकार्यमा काम गर्न खोजेको हो। त्यसैले उद्योगलाई कैयौं सहुलियत दिएका छौं ।’

कृषि क्षेत्रको विकास र बिस्तारबाट आत्मनिर्भर अर्थतन्त्र विकास गर्दै आन्तरिक कच्चापदार्थमा आधारित उद्योगलाई बजेट बिनियोजन गरिएको उप्रेती बताउँछन् ।

सेवा क्षेत्रलाई सहुलियत दिन सक्दा आगामी ५ वर्षमा ५ अर्ब डलरको निर्यात सम्भावना भएको उप्रेतीको दाबी छ।

‘तयारी नभएका आयोजनामा बजेट बिनियोजन गर्ने, साना आयोजनामा बजेट बिनियोजन गर्ने प्रवृत्तिले बजेट कार्यान्वयन हुन सकेको थिएन,’ उप्रेतीले भने, ‘हामीले यस्ता खराब अवस्थालाई हटाउन खोजेका छौं ।’

Skip This