मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिन वनस्पति घ्यू तेल उद्योगीहरूको माग



काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आयातमा भन्सार शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिन माग गरेको छ ।

आर्थिक वर्ष २०६९/८० को प्रस्तुत बजेटले तेल उद्योगीहरूलाई परेको असरबारे प्रेस विज्ञप्ति जारी गर्दै भन्सार दर शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिन माग गरेको हो ।

‘प्रस्तुत बजेटमा तयारी वस्तु/सामानलाई कच्चा पदार्थभन्दा पनि एक तह कम भन्सार महसुल लागू गरेकाले सोलाई अबिलम्व खारेज गर्नुपर्नेछ,’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘उपभोक्ताहरुलाई चरम महंगीबाट राहत दिन र भारतवाट अनाधिकृत रुपमा आउने खाने तेल रोक्नका लागि कच्चा खाने तेलको आयातमा भन्सार महशुल शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिनुपर्छ ।’

नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुुलमा आयात गरी सोको प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ । प्रशोधित तेलमा आयात महशुल १५ प्रतिशत थियो जुुन कच्चा पदार्थभन्दा एक तह मात्र बढी छ ।

हाल सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटबाट बिशेष उद्योगहरु (जस्तै बिस्कुट र चाउचाउ) लाई प्रशोधित पाम र पामोलीन तेल आयात गर्न ५ प्रतिशत भन्सार महसुल, अर्थात हाल÷साविकको व्यवस्था मा ६६.६७ प्रतिशत छुट दिई तयारी माल भन्दा कच्चा पदार्थको भंसार महशुल एक तह कम हुने नीतिले औद्योगिक विकासमा गम्भीर असर पुर्याएको संघको ठहर छ ।

त्यसैगरी, संघले उपभोक्ताहरूलाई प्रत्यक्ष रुपमा राहत दिनका लागी खाने तेलको महशुल दर कम गर्नुुको सट्टा अन्य उद्योगहरुलाई कम महशुल दरमा तयारी खाने आयात गर्न दिने नीति व्यवहारीक र विवेकपूर्ण नरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘कच्चा पदार्थभन्दा बढी मूल्यमा तयारी माल सामान आयात हुन्छ । जसमा बहुमूल्य विदेश मुद्रा बढी मात्रामा विदेशीने संघको भनाइ छ ।

‘कच्चा पदार्थमा तिर्दै आएको १० प्रतिशत भन्सार महसूलभन्दा तयारी सामानमा ५ प्रतिशत महशुल तिर्दा सरकारको राजश्वमा गम्भिर असर पर्न जान्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘साथै सरकारको स्थानिय उद्योगलाई वढावा दिने र तयारी वस्तुभन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने नीतिको विरोधामाष समेत हो ।’

त्यसैगरी, कच्चा पदार्थ प्रशोधन गर्दा बाइ प्रडक्ट (पीएफए/पाल्म फ्याट्टी एसीड)को उत्पादन साबुन उद्योगको कच्चा पदार्थ हो । तयारी सामानको आयातमा बृद्धि हुँदा बाइ प्रडक्टको उत्पादन न्यून हुन्छ र साबुन उद्योगले कच्चा पदार्थ आयातमा बृद्धि गर्नु पर्ने हुन्छ । यसबाट अतिरिक्त बहुमुल्य विदेशी मुद्रा विदेशीने क्रममा बृद्धि हुने संघको भनाइ छ ।


क्लिकमान्डु