बीमाको पहुँच ३९.१२ प्रतिशत जनसंख्यामा पुग्यो



काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको दायरामा आएको जनसंख्या १२.२ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको बैशाखमसान्तसम्ममा ३९.१२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको हो ।

तथ्यांक विभागको तथ्यांक अनुसार हाल नेपालको जनसंख्या ३ करोड १ लाख ५२ हजार ४९५ जना रहेको समितिले उल्लेख गरेको छ ।

जसमा एक करोड १७ लाख ९५ हजार ८४० जना बीमाको दायरामा रहेको समितिको तथ्यांकले देखाएको छ ।

यो संख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा जानेले गराएको बीमासहितको तथ्यांक हो ।

समितिका अनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरा ३९.१२ प्रतिशत जनसंख्यामा पुगेको हो । गत आवको यसै अवधिमा बीमाको दायरामा आएको जनसंख्या २६.९२ प्रतिशत थियो ।

म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ४८ लाख १९ हजार ९९५ जनामा बीमाको पहँुच पुगेको छ ।

चालु आवको वैशाखमहिनासम्ममा १ करोड २३ लाख ७१ हजार ६९१ बीमालेख जारी भएका छन् । गत आवको यसै अवधिको तुलनामा ४७.३२ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिमा जीवन बीमा कम्पनीहरूमा कुल ८३ लाख ९७ हजार ७५५ वटा बीमालेख जारी भएका थिए ।

समितिका अनुसार यस अवधिमा ८ लाख ५४ हजार ६६७ वटा बैदेशिक रोजगार बीमालेख जारी भएका छन् ।

यस अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ६४ लाख ४३ जहार ३४५ वटा छ । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक कुल जीवन बीमालेखको संख्या भने ५० लाख ७३ हजार ६७९ वटा बीमालेख जारी भएका छन् ।

एक वर्षको अवधिमा बीमा कम्पनीहरुमा १४.५८ प्रतिशतले शाखा कार्यालय थपिएका छन् । हाल बीमा कम्पनीहरूका शाखा कार्यालयको संख्या ३ हजार ३४८ वटा रहेको बीमा समितिको तथ्यांक छ । गत आवको यसै अवधिमा बीमा कम्पनीका शाखा कार्यालयको संख्या २ हजार ९२२ वटा रहेको थियो ।

यस्तै, बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या ११ हजार ८७५ जना पुगेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १२.३१ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीहरूमा कार्यरत कर्मचारीको संख्या १० हजार ५७३ जना रहेको थियो ।


क्लिकमान्डु