एक घण्टामा चितवन, २ घण्टामा सगरमाथा हेलिकोप्टरमा झुण्डिएर जाने हो ?



काठमाडौं । सांसद लालबाबु पण्डितले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको कतिपय विषय पत्याउन नसकिने खालका रहेको बताएका छन् ।

सरकारले बजेटमा एक घन्टामा काठमाडौंबाट चितवन, २ घन्टामा चरतराबाट सगरमाथा पुगिने भनेपनि त्यसमा स्रोत सुुनिश्चित नरहेको बताए । ‘काठमाडौंबाट चितवन १ घन्टामा पुगिने भनेको छ, चतराबाट सगरमाथा २ घन्टामा पुगिने भनेको छ’ उनले भने, ‘ति आयोजना बनाउने स्रोत कतै देखिँदैन, त्यहाँ हेलिकोप्टरमा झुन्डिएर जाने हो ? यसको स्रोत खै ?’

उनले बजेटमा पत्याउनै नसकिने विषय समावेश भएको र सरकारको आगामी आवको बजेट ललिपप जस्तो रहेको बताए ।
यो चुनावी सरकार भएका कारण ६ महिनाका लागि चुनावी बजेट ल्याएको र चुनावी नाराको रुपमा मात्रै सिमित भएको तर्क गरे ।
संघीय निर्वाचनपछि ६ महिना भित्रै पुरक बजेट ल्याउनुपर्ने उनको तर्क छ । आगामी आवको बजेट हुँदा खानेका लागि भन्दा पनि हुने खानेका लागि भएको, नीजि क्षेत्रलाई पोसेको खालको रहेको तर्क गरे ।

सरकारले ल्याएको बजेटले ठूलो उद्योग फस्टाउने र साना उद्योग मर्ने अवस्था रहेको भन्दै घरेलुु साना उद्योगले के गर्ने भन्दै प्रश्न गरे ।

सरकारले किसानलाई पेन्सन दिने भनेर उल्लेख गरेको भएपनि त्यसको स्रोत नभेटिएको र यो केवल चुनावी नारा मात्रै भएको पण्डितको तर्क छ । यो मात्रै होइन बिना स्रोत बजेटमा राखिएको इन्डक्सन चुलो पनि मतदाता लोभ्याउने गुलियो नारा मात्रै भएको उनको तर्क छ ।

सरकारले स्वास्थ्य र शिक्षा निजी क्षेत्रलाई सुम्पिन लागेको हो ? भन्दै पण्डितले प्रश्न गरेका छन् । यो क्षेत्रमा विनियोजन गरेको बजेटले त्यस्तै देखाएको उनको तर्क छ । जहाँ भौतिक संरचना छैन त्यहाँ बजेट जाने, जहाँ छैन त्यहाँ नजाने समस्या अहिले पनि कायमै रहेको उनको भनाइ छ ।


क्लिकमान्डु