मेयर बालेन शाहको सपोर्टमा झम्सिखेलको चिकेन स्टेसनले सित्तैमा बर्गर बाँड्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएको खुसियालीमा र उनको सहयोगको लागि भनेर चिकेन स्टेसनले मंगलबार निशुल्क बर्गर वितरण गर्ने भएको छ ।

चिकेन स्टेसनको मुख्य शाखा झम्सिखेलबाट आज मंगलबार आउने हरेक ग्राहकलाई निशुल्क बर्गर उपलब्ध गराउने चिकेन स्टेसन सञ्चालक निकेश ताम्राकारले बताए ।

‘काठमाडौं महानगरपालिकाको प्रमुख जस्तो पदमा ३२ वर्षे युवा निर्वाचित हुनु ठूलो कुरा हो,’ ३४ वर्षे निकेशले भने, ‘हामी युवाले युवालाई काम गर्ने हौसला र सहयोग छ भनेर सन्देश दिन यो अफर ल्याएका हौं ।’

मंगलबार बेलुका ६ बजेसम्म आउने सबै ग्राहकले चिकेन र भेज बर्गर निशुल्क पाउनेछन् । आज दिनभरीमा कम्तिमा ४ सयभन्दा धेरै बर्गर जाने अनुमान निकेशको छ ।

४ सय बर्गर निशुल्क दिँदा झन्डै ४० हजार रुपैयाँ लगानी पर्ने उनको अनुमान छ ।

‘हामीले ४ सय माथि लाग्छ भन्ने अनुमान गरेका छौं,’ ताम्राकारले भने, ‘पानी पर्यो भने कम पनि हुनसक्छ ।’

झम्सिखेल चिकेन स्टेसन पुग्ने कुनै पनि ग्राहकले कुनै पनि सर्तविना बर्गरमात्र खाएर फर्किन सक्ने निकेशले बताए ।

स्वतन्त्ररुपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उमेदवार दिएका बालेन शाहले ठूलो अन्तरले प्रतिद्धन्द्धीलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका थिए । सोमबार शाहले पदभार ग्रहण गरिसकेका छन् ।

३४ वर्षे निकेशले चार वर्षअघि झम्सिखेलबाट चिकेन स्टेसन शुरु गरेका थिए । अहिले यसको शाखा ४५ पुगिसकेका छन् । यी फ्रेन्चाइजमा ५ सयभन्दा धेरैले काम गर्छन भने उनी आफैले चलाएको सेन्टर किचन र झम्सिखेलमा गरेर ५० जनाले रोजगारी पाएका छन् ।


क्लिकमान्डु