बजेटलाई संघले गर्यो स्वागतः धितोपत्रको दोस्रो बजारमा लगानी खुला गर्नू स्वागतयोग्य



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले ल्याएको बजेटलाई गैर आवासीय नेपाली संघले स्वागत गरेको छ । संघले उठाउँदै आएका थुप्रै मागलाई बजेटले सम्बोधन गरेको भन्दै संघले स्वागत गरेको जनाएको छ ।

यो बजेट मार्फत नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड कायम गर्नुका साथै १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने घोषणा गरेको छ ।

यस्तै धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउने र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था गरिएको छ ।

उत्पादनमूलक एवं निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्न एवं गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानीसम्बन्धी कानून तथा प्रक्रियामा सुधार गर्ने, उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने साथै उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लीजमा दिन सकिने व्यवस्था मिलाउने घोषणा गरिएको छ । यसलाई पनि संघले स्वागत गरेको छ ।

त्यस्तै सार्वजनिक ऋणलाई उच्च प्रतिफल प्राप्त हुने आयोजना एवं राष्ट्रिय पुँजी निर्माणका क्षेत्रमा परिचालनका लागि आन्तरिक ऋण परिचालन गर्दा वैदेशिक रोजगारीमा गएका नागरिक र गैरआवासीय नेपालीलाई लक्षित गरी ऋणपत्र जारी गरिने बजेटमा उल्लेख छ ।

संघले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन नेपाल सरकारसंग सहकार्य गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगार सम्वद्ध सेवाहरुलाई अनलाइन प्रणाली मार्फत प्रदान गर्न व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुलाई टेलीमेडिसिन सेवा प्रवाह गर्न आवश्यक व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका लागि संचित लगानी कोष संचालन गर्ने लगायतका प्रावधानहरुको घोषणा गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष मार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउने वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई राहदानी नवीकरण, कन्सुलर सेवा तथा श्रम स्वीकृती नविकरण वापत लाग्ने शुल्क वा दस्तुरमा ५० प्रतिशत छुट दिने घोषणाको पनि स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघले हालै प्रधानमन्त्री कार्यालयमा लिखित सुझावहरु दिंदै वैदेशिक रोजगारबाट फर्किएका नेपालीलार्इ स्वदेशमै रोजगारी उपलब्ध गराउन राज्यको तर्फबाट पहल गर्न आग्रह गरेको थियो। संघीय संसदमा आइतबार प्रस्तुत बजेटमा वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत पूर्ण ऋणको व्यवस्था गर्ने लगायतका घोषणा गरेको छ ।

विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गर्ने जस्ता प्रावधानहरु सकारात्मक छन् । यसअघि नेपाल सरकारले विदेशमा बसोबास गरि रहेका नेपालीहरुलाई नेपाली बैंकमा डलर खाता खोल्न सहज गर्नुका साथै जुन १ तारिखदेखि नेपाल राष्ट्र बैंकले आकर्षक व्याजदर दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न लागेको छ । यस्ता कदमका लागि संघले सरकारलाई धन्यवाद दिंदै यी सुविधाबाट लाभ लिंदै आफ्नो मातृभूमिको अर्थतन्त्रलाई पनि टेवा पुर्याउन सम्पूर्ण गैरआवासीय नेपालीलाई अपिल गरेको छ ।

गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै संसारभरि फैलिएका गैरआवासीय नेपालीहरुसंग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्न सक्दो प्रयास गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु