तारा एयर दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी, मौसम खुले आजै उद्दार गरिने



काठमाडौं । तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मी पुगेका छन् ।

चालक दलका तीन जनासहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको जहाज क्षतविक्षत अवस्थामा सोमबार बिहान गोठाला र स्थानीयवासीले फेला पारेका हुन् ।

कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले बताए । ‘

यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने बताइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेना सहित , फिस्टेल र कैलाश एयरको एक÷एक हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताए ।

मौसम खुलेको अवस्थामा एक हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छोडेर नाउरीकोट आएको छ । कुहिरो हट्नै बित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने तयारी गरिएको छ । 

यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडौंबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ । 

जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२  नेपाली, चार  भारतीय र दुई जर्मनी नागरिक थिए । 


क्लिकमान्डु