गोल्छाको अगुवाईमा बिराटनगरमा ६० करोड लगानी गरेर १०० बिगाह जमिनबाट ‘मातृभूमि’ ब्रान्डको कृषि उत्पादन
काठमाडौं । नेपालमा जुट खेती विस्तारै हराउँदै गएपछि १०० वर्ष पुरानो जुट उद्योग सञ्चालन गरिरहेका राजकुमार गोल्छालाई लाग्यो, ‘यो खेती आफैं गर्न सके स्वदेशी उत्पादन पनि हुने र उद्योग सञ्चालन गर्न पनि सहज हुन्थ्यो ।’
जुटमात्र होइन, नेपालमा व्यवसायीक कृषि खेतीको ठूलो सम्भावना छ । गोल्छाले आफ्नो योजना सुनाए सोमनाथ अधिकारी र गृष लोहनियासँग ।
अधिकारी कृषि विज्ञ पनि हुन् । उनले इजरायलमा कृषि अध्ययन गरेर फर्किएपछि नेपालमा केही गर्न चाहिरहेका थिए । उनी उद्योग संगठन मोरङमा २८ वर्षदेखि कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए ।
गोल्छाले ७५ वर्षअघि स्थापना भएको रघुपति जुट मिल र ३० वर्षअघि स्थापना भएको अरिहन्त जुट मल्टी-फाइव्रर्स सञ्चालन गरिरहेका छन् । उक्त उद्योगका लागि ठूलो मात्रामा जुट आवश्यक पर्छ । जुट खेतीलाई पुरानोस्तरमा पुर्याउन सके पनि ठूलो उपलब्धी हुन्छ भन्ने उनलाई लागिरहेको थियो ।
तीन जनाको एकमत भयो कृषि व्यवसाय गर्ने र केही वर्षमा देशमा मुख्य सहरमा आउटलेट विस्तार गर्ने । चार वर्षअघि अरिहन्त एग्रिफार्म एण्ड रिसर्च सेन्टर स्थापना गरे । यही कम्पनीमार्फत् उनीहरुले सय विगाहा जमिनमा कृषि फार्म सञ्चालन गरिरहेका छन् ।
‘हाम्रो उदेश्य कृषि उत्पादनसँगै विभिन्न उत्पादनको रिसर्च गर्दै जाने हो,’ अरिहन्त एग्रिफार्म एण्ड रिसर्च सेन्टरका निर्देशक अधिकारी भन्छन्, ‘अहिले ३० भन्दा धेरै प्रकारको कृषि उत्पादन छन् र रिसर्चको काम पनि भइरहेको छ ।’
बिराटनगरबाट ७ किलोमिटर पक्षिम सुनसरीको बर्जु, वडा नम्बर ४, सितागंन्ज छ उनीहरुको कृषि फार्म । १०० विगाहा जमिनमा फैलिएको कृषि फार्म सञ्चालन गर्न अहिलेसम्म ६० करोड रुपैयाँ लगानी लागेको अधिकारीले बताए । यसलाई २ सय विगाहामा फैलाउने योजना उनीहरुको छ ।
फार्ममा अहिले उखु, जुटसहित तरकारी, मौसमी गरेर ३० प्रकारका खेती उत्पादन हुन्छन् । खेतीको लागि चाहिने पूर्वाधारमा धेरै खर्च भएको छ । बिजुलीको लाइन, ट्रान्सफरमरमा लगानी लागेको छ ।
अहिले बार्षिक कारोबार साढे दुई करोड पुगको र क्रमशः बढ्दै गएको उनले बताए ।
सबैभन्दा धेरै उखु उत्पादन भइरहेको छ । उखु ५० विगाहा लगाएका छन् । त्यस्तै, जुट १५ बिगाहा, कागती १० बिगाहा, सुपाडी १० बिगाहा, धान ८ बिगाहामा लगाएका छन् । त्यसबाहेक खर्बुजा, तोरी, स्टवरीलगायत तराईमा उत्पादन हुने सबै प्रकारका तरकारीहरु लगाएको अधिकारीले बताए ।
उखु उत्पादन राम्रो परीणाम र गुणस्तरीय निस्किरहेको छ । एक विगाहामा ६ सय क्विन्टल उत्पादन हुन्छ जबकी अन्य कृषकको खेतमा यति धेरै उत्पादन नभएको उनी बताउँछन् ।
त्यस्तै, ४० हजार बर्गमिटर क्षेत्रफलमा टनेल निर्माण गरेका छन् । यसलाई नेट हाउस भनिन्छ । यसमा टमाटर, क्याप्सिकम, स्टवरीजस्ता ‘हाइ भ्यालु’ भएका कृषि उत्पादन गरिरहेका छन् ।
२ वर्षअघिदेखि उनीहरुले रिसर्च गरिरहेको खेती हो स्टवरी । दुई वर्षअघि स्टवरीका ३५ हजार बोट लगाएका थिए । त्यसमध्ये झन्डै १० हजार बिरुवा मरे भने २५ हजारले स्टवरी उत्पादन गरिरहेका छन् ।
यी बिरुवाले राम्रो उत्पादन दिइरहेको अधिकारीले बताए । यसलाई काठमाडौं र भारतमा पनि पठाएका थिए ।
‘एउटा स्टवरी बोटबाट साढे ७ सयदेखि ८ सय ग्राम उत्पादन गर्न सकिन्छ भन्ने हाम्रो विश्वास थियो,’ अधिकारी भन्छन्, ‘तर, एक बोटबाट एक केजीभन्दा धेरै उत्पादन भयो । गुणस्तरी पनि छन् ।’
त्यस्तै, खर्बुजा उत्पादनमा पनि उनीहरु अध्ययन गरिरहेका छन् । एउटा खर्बुजा १२ किलोसम्म उत्पादन भएको उनी बताउँछन् । यी खतीलाई अझ ठूलो परीणाममा बिस्तार गर्ने योजना उनीहरुको छ ।
यी फलफूलबाहेक तराइमा उत्पादन हुने सबै तरकारीहरु पनि उत्पादन गरिरहेका छन् ।
कृषि फार्मलाई अझ धेरै विस्तार गर्ने योजनामा उनीहरु छन् । ‘कम्तिमा २ सय विगाहामा कृषि खेती गर्ने योजना हाम्रो छ,’ अधिकारीले भने, ‘जमिन लिजमा लिने र अन्य सुविधाको लागि सरकारसँग कुरा पनि भइरहेको छ ।’
२ सय विगाहामा खेती गर्न सकेमा मात्र अहिलेको प्रयोग भइरहेको प्रविधि र लगानीको प्रतिफल धेरै आउन उनी बताउँछन् ।
तरकारी तथा अन्य उत्पादनको लागि नयाँ प्रविधि प्रयोग गरिहेका छन् । उखु रोप्ने र काट्ने, धान रोप्ने र काट्ने मेसिनले गर्छन् । तोरी पनि कम्बाइन हार्बेष्टिङ गर्छन् ।
कृषि उत्पादन बेच्ने उनीहरुको आफ्नै ब्रान्ड छ- ‘मातृभूमि’ । भाटभटेनी लगायतका ठाउँमा ‘मातृभूमि’ ब्रान्ड तरकारी उपलब्ध छन् ।
आफ्नै कृषि फार्म, आफ्नै ब्रान्ड र मुलुकका विभिन्न ठाउँमा आफ्नै आउटलेट पनि राख्ने योजना उनीहरुको छ । अहिले बिराटनगर क्षेत्रमा बिक्री गरिहेको उत्पादनहरु काठमाडौं, हेटौंडा, पोखरा, नारायणघाटजस्ता सहरमा आफ्नै आउटलेट राख्ने योजना उनीहरुको छ ।
यी ठाउँमा आउटलेट राख्ने ठूलो मात्रमा उत्पादन गर्ने र आइटम पनि धेरै हुनुपर्ने उनको भनाइ छ । उत्पादनलाई काठमाडौ पठाउने तयारी गरिरहेका छन् ।
फार्ममा प्राविधिकदेखि अन्य गरेर नियमित रुपमा २२ जनाले रोजगारी पाएका छन् । उखु, धान तथा अन्य बाली स्याहार्ने सिजनमा भने सयदेखि १५० जनासम्मले काम पाउँछन् ।
मुलुकमा व्यवसायीक कृषि खेती विस्तार गर्ने हो भने सरकारले नीतिगत सुधार र कृषकलाई सुविधामा ध्यान दिनुपर्ने उनको सुझाब छ ।
जग्गा हदबन्दी कारण एउटा कम्पनीले ११ विगाहाभन्दा धेरै जग्गा लिन पाइदैन । विभिन्न कम्पनीबाट लिजमा लिएर खेती गर्नुपर्छ ।
‘हकबन्दीले ठूलोस्तरमा कृषि गर्नेलाई हतोत्साहित गरेको छ,’ उनी भन्छन्, ‘यदि व्यवसाय घाटामा गयो भने जमिन बेचेर परिपूर्ति गरौंला भन्ने अवस्था छैन ।’
त्यस्तै, अर्को समस्या भनेको मलको अभाव हो । कृषि उत्पादन गर्दा आवश्यक परेको बेला मल पाइदैन । राज्यले समयमै मल उपलब्ध गराइदिनु पर्ने उनी बताउँछन् ।
अर्को समस्या बीऊको अभाव हो । बाहिरबाट बीउ ल्याउँदा ‘प्लान्ट क्वारेन्टाइन’देखि धेरै कुरामा झन्झटिला प्रकृया छन् । यसले गर्दा निजी क्षेत्रले बाहिरबाट बिऊ ल्याउन सक्ने अवस्था नरहेको उनी बताउँछन् ।
कृषि एक ठूलो उद्योग हो भन्ने बुझेर कृषि उपकरण, मल, बीऊ र नीतिगत विषयमा राज्यले सहजीकरण गरिदिनुपर्ने उनी बताउँछन् ।