विदेशी लगानी आकर्षित गर्न एकद्वार प्रणाली आवश्यक छ: निक्की अध्यक्ष राणा



काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज (निक्की)ती अध्यक्ष सिर्जना राणाले विदेशी लगानी आकर्षित गर्न एकद्वार प्रणाली आवश्यक भएको बताएकी छन् ।

निक्कीको बिहीबार भएको २६औं र २७औं साधारणसभामा बोल्दै राणाले भनिन्, ‘विदेशी लगानी आकर्षित गर्नका लागि अहिले उद्योग विभाग र नेपाल राष्ट्र बैंकलगायतबाट अनुमति लिनुपर्ने अवस्था छ, यो समस्या समाधानका लागि एकद्वार प्रणाली आवश्यक छ ।’

उनले विदेशी कमिपनीहरुलाई लाभांश लैजान तथा प्रविधि हस्तान्तरण शुल्कका लागि सहज नभएको भन्दै विदेशी लगानी आकर्षित गर्नका लागि ऐन संशोधन गर्नुपर्ने बताइन ।

‘अहिले १ लाख रुपैयाँभन्दा बढी लगानी ल्याउनका लागि उद्योग विभाग र राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ, यसले पनि लगानी ल्याउनका लागि अप्ठयारो परेको छ,’ उनले भनिन्, ‘धैरे स्थानबाट अनुमति लिनुपर्ने व्यवस्थालाई एकद्वार प्रणालीमारुपान्तरण गर्नुपर्छ ।’

उनले कन्ट्रयाक म्यानुफ्याक्चरिङमा पनि सीमित अधिकार भएकाले पनि विदेशी लगानीका लागि समस्या भएको बताइन् ।

राणाले सन् २०२०-२१ मा नेपालले भारतमा १०६ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको बताइन् । र, यो रकम तत्कालीन समयका लागि धेरै भएको उनको भनाइ छ ।

नेपालबाट भारतमा हुने निर्यात ८७ प्रतिशतले बढेको र चालु आर्थिक वर्षको ९ महिनामा मात्रै १२८ अर्ब रुपैयाँ बराबरको निर्यात भइसकेको बताइन् । र, यो गत आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो ।

उनले भारतीय कम्पनी एसजीभिएन र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण हुने भनिएको ४९० मेगावाटको अरुण ४ जलविद्युत् आयोजनाले राम्रो सन्देश दिएको बताइन् ।


क्लिकमान्डु