अनिल शाह भन्छन्- अब जागिर खाँदिन, आफैं केही गरेर उद्यमी बन्छु



काठामाडौं । अनिल केशरी शाह बैंकिङ र कर्पोरेट जगतमा स्थापित नाम हो । उनी युवाहरुका लागि मोटिभेशनल स्पिकरकारुपमा पनि परिचित छन् ।

त्यतिमात्रै होइन, बेलाबेलामा उनी राजनीतिकरुपमा पनि चर्चामा आउने गरेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई खुलेरै समर्थन गरेका कारण भट्टराईले नयाँ शक्ति पार्टी खोल्दा शाह पनि उक्त पार्टीमा जाने निकै ठूलो चर्चा थियो । तर, पछि उनी गएनन् ।

पेशाले अनिल शाह बैंकर हुन् । १६ वर्षदेखि लगातार बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का रुपमा कार्यरत छन् । बैंकिङमा करिअर बनाउनेहरुका लगि शाह ‘आइडियल’ व्यक्ति पनि हुन् । उनी वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष पनि हुन् ।

शाहको वाक्कलाले खासगरी युवाहरुलाई राम्रैसँग आकर्षित गर्छ । उनी अहिलेसम्म नविल बैंकको सीइओ छन् । आगामी साता नविल बैंकमा उनको कार्यकाल सकिँदैछ । नविल बैंकको विषेश साधारणसभाले नै अर्को कार्यकालका लागि ज्ञानेन्द्र ढुंगानालाई सीइओमा नियुक्ति गर्ने निर्णय गरिसकेको छ । र, स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइसकिएको छ ।

३० वर्षसम्म बैंकिङमा विताएका अनिल शाह अब के गर्लान् ? जागिरमै फर्किनुहुन्छ कि अरु केही गर्ने योजना छ ? भनेर क्लिकमाण्डूले सोधेको थियो ।

‘३० वर्षसम्म जागिर खाएँ, अब मलाई जागिर पुग्यो,’ शाहले क्लिकमाण्डूसँग भने, ‘आफ्नै केही गरेर उद्यमी बन्ने सोचमा छु ।’
अब आफू होइन, अरुलाई लिडर बनाउने काम गर्ने उनको भनाइ छ ।

‘केही बैंकमा अनिल शाह सीइओ भएर जाँदैछ भनेर सेयर मूल्य बढाईंदैछ,’ उनले भने, ‘म बसैलाई प्रष्ट पार्न चाहन्छु कि म अब जागिर खानेवाला छैन ।’

तपाईं त राजनीतिमा जाने चर्चा पनि सुनिन्छ नि ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिए, ‘त्यो असंभव छैन । तर, यसबारे म अहिले कुनै टिप्पणी गर्न चाहन्न ।’

को हुन् अनिल शाह ?

अनिल केशरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्यस्वरी शाहका नाति हुन् । उनी डा। नारायण केसरी शाह र नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहका जेठा छोरा हुन् ।

शाहको विवाह नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेर राणाकी नातिनी रति राज्यलक्ष्मीसँग भयो।

कुटनीतिक परिवारको सदस्य भएकाले अनिलको शिक्षादीक्षा बंगलादेश, अमेरिका, भारतमा भयो । वासिङ्टन युनिभर्सिटीबाट बीबीए र दिल्ली युनिभर्सिटीबाट एमबीए गरे ।

सन् १९७१ अगष्ट १ मा काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा जन्मिएका शाहले तत्कालीन ग्रिनलेज अहिलेको स्ट्याण्डर्ड चार्टर्डमा सन् १९९१ देखि करिअर शुरु गरे । र, १३ वर्ष उनी ग्रीनलेज बैंकमा काम गरे । उनी त्यहाँको ‘सेकेण्डम्यान’ सम्म बने । त्यसपछि उनी नविल बैंकमा सीइओ बनेर आए । पछि मेगा बैंक खुल्ने भएपछि संस्थापक सीइओकारुपमा दुई कार्यकाल काम गरे । र, पछि फर्केर नविल बैंकमै एक कार्यकाल सीइओ भएर विताए ।

मासिक ३५ सय रुपैयाँदेखि जागिरको करिअर शुरु गरेका शाहका लागि अहिले नविल बैंकले मासिक २० लाख बढी खर्च गर्दै आएको छ । उनले आफ्नो पहिलो कार्यकाकालमै नविल बैंकलाई अधिकांश सूचकमा पहिलो नम्बरमा पुर्याउन सफल भएका थिए ।


क्लिकमान्डु