बालाजी इन्टरप्राइजेजको आम्दानी १० प्रतिशतले घट्यो



काठमाडौं । बालाजी इन्टरप्राइजेज प्रालिको आम्दानी १० प्रतिशतले घटेको छ । खाद्यान्न, फलफूल र जनावरको दाना उत्पादन गरी बिक्री वितरण गर्दै आएको कम्पनीको आम्दानी सन् २०२१ मा १० प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ७५ करोड रुपैयाँको आम्दानी गरेको जनाएको छ । सन् २०२० मा ४ अर्ब १९ करोड ५० लाख रुपैयाँको आम्दानी गरेको थियो । त्यसैगरी। कम्पनीले सन् २०१९ मा १ अर्ब ९६ करोड ७० लाख रुपैयाँ, सन् २०१८ मा १ अर्ब ५२ करोड ६० लाख र सन् २०१७ मा ३५ करोड ५० लाख रुपैयाँको आम्दानी गरेको थियो ।

सन् २०१५ मा सञ्चालनमा आएको कम्पनीले हरेक वर्ष उच्च रुपमा आम्दानी बढाउँदै गएको देखिन्छ । सन् २०२१ मा केही मात्रामा घटेको कम्पनीको भनाइ छ । कम्पनीको सन् २०२१ मा आम्दानी घटेपनि सन् २०२२ को ८ महिनाको अवधिमा ५२ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

मुकेश कुमार अग्रवाल प्रवन्ध निर्देशक रहेको कम्पनीले खाद्यान्नको ट्रेडिङ गर्दै आएका छन् । विशेषगरी कम्पनीले मटर, मकै र चामलसहित अन्य विभिन्न प्रकारका खाद्यान्न बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीकाअनुसार पछिल्लो समयमा बढ्दो शहरीकरण र व्यक्तिगत आय बढेकाले खाद्यान्नको उच्च माग रहेको छ । साथै, देशमा उत्पादन कम भएकाले खाद्यान्न र फलफूल मात्रै सन् २०२१ मा भारतबाट ६० प्रतिशत आयात गरेको कम्पनीले उल्लेख गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ७५ करोड रुपैयाँ दीर्घकालिन तथा अल्पकालिन कर्जाका लागि रेटिङ दिएको छ ।


क्लिकमान्डु