रेनु दाहालको पहिलो निर्णयः छोरीका लागि १ लाखको बीमा, भरतपुरवासीलाई निःशुल्क खानेपानी



काठमाडौं । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई निर्णय गरेकी छिन् ।

हानगरभित्रका बासिन्दालाई मासिक ७ हजार लिटर खानेपानी निःशुल्क र एक लाख रुपैयाँ बराबरको छोरी बिमा गर्ने निर्णय गरेकी छिन् ।

दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताइएको छ । महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ ।

महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका ३५ ग्राहक हजार छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ । महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् ।

महानगरले गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि १ लाखको जीवन बीमा गरिने भएको छ । महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन् ।

राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो । एक जनालाई वार्षिक ३ हजार ३०० महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ । १५ वर्षपछि ती छोरीले १ लाख पाउने गरी बिमा गर्न लागिएको हो । अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ ।


क्लिकमान्डु