बालेनले भने- घोषणापत्र कार्यान्वयन भएका दिन सबै मिलेर विजय उत्सव मनाउँला




काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले घोषणापत्रमा भएका कुरा लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने जनाएका छन् ।

उनले अहिले नै विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगर्न शुभचिन्तकलाई आग्रह गरेका छन् । साहले सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेका हुन् ।

‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रकृयामा सामेल हुने सबैलाई धन्यवाद छ’ उनले फेसबुकमा लेखेका छन्’ ‘अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।’

उनले आफुलाई करिब ३५ प्रतिशत मतदाताले रोजेको र बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गरेको उनले उल्लेख गरेका छन् । ‘हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ’ उनले भने ‘महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।’

उनले दोस्रो, ठाउँबाट र्यालीका लागि काठमाडौं आउने चर्चा रहेको भन्दै कोही पनि र्यालीका लागि काठमाडौं नआउन आग्रह गरेका छन् । यो एक अभियान भएको भन्दै यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिन सकिने उनको भनाइ छ ।


क्लिकमान्डु