व्यापारघाटा अझै बढ्न सक्छ र खाद्यसंकट आउन सक्छः महासंघका अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापारघाटा झनै बढ्न सक्ने बताएका छन् ।

विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपायका विषयमा छलफल गर्न महासंघले आयोजना गरेको कार्यक्रममा गोल्छाले नेपाली मुद्रा कमजोर बन्दै गएकाले व्यापार घाटा बढ्न सक्ने बताए ।

रसिया र युक्रेनबीचको युद्धपछि रासायनिक मलको समेत अभाव हुनुको साथैं मूल्य समेत बढिरहेको र समग्र आपूर्ति चेनमा समस्या सिर्जना भएको भन्दै खाद्य संकट समेत आउन सक्ने चेतावनी दिए ।

‘हामीले पूर्वतयारी गर्न आवश्यक भएको छ,’ गोल्छाले भने, ‘ कृषिको व्यवसायीकरण गर्ने घोषणा गरेको दशकौं भइसकेको छ । अब कृषि इको सिस्टम नै सुधार गर्नुपर्छ ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा समग्र क्षेत्रमा मूल्य बढिरहेकाले सरकारले इन्धनको प्रयोग घटाउने विषयमा सोच्नु पर्ने बताए ।

‘निर्माणधिन विद्युत् तीव्रताका साथ निर्माण सम्पन्न गर्नुपर्छ,’ गोल्छाले भने, ‘विद्युतको प्रयोग बढाउन सफा ट्यापुको प्रयोग बढाउनु पर्ने, ठूला इलेक्ट्रिक बस चलाउनु पर्ने विकल्पमा हामी जानु पर्छ ।’

गोल्छाले बैंक तथा वित्तीय संस्थाले बचतमा ब्याजदर बढाउँदा समेत निक्षेप बढ्न नसकेको भन्दै ब्याजदर घटाउने विषयमा योजना बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरे ।


क्लिकमान्डु