हिमालयन हाइड्रोको आइपीओमा परेन माग अनुसार आवेदन, थपियो समय



काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित स्थानियले आवेदन नदिएपछि सेयर भर्ने समय थपिएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा-१ साविकको पाचें गाविसको सबै वडा, मादी गाउँपालिका-२ साविकको नामार्जुन गाविसका सबै वडाका स्थानिय बासिन्दालाई आइपीओ निष्कासन गरेको थियो ।

मादी गाउँपालिका-३ र ४ साविकको थुमाकोडाँडा गाविसका सबै वडा र मादी गाउँपालिकाका-६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानियलाई आइपीओ निष्कासन गरेको थियो । कम्पनीले वैशाख २५ देखि जेठ ८ गतेसम्मका लागि सेयर निष्काशन गरेको थियो । उक्त अवधिमा माग अनुसार आवेदन नपरेका कारण समय थपेर जेठ १६ गतेसम्म आवेदन दिने समय तोकिएको छ ।

स्थानीयले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आइपीओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आइपीओमा बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुच्छ्रे बैंकको मादी शाखा कस्कीबाट आवेदन दिन सकिनेछ ।

मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिन सकिने छ । यस्तै धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।

उक्त अवधिमा पनि माग अनुसार स्थानीयले आवेदन नदिएको खण्डमा बाँकी रहेको सेयर थपेर सर्वसाधारणका लागि निष्कासन गरिने छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ९ लाख कित्ता सेयर निष्कासन गरेको छ ।


क्लिकमान्डु