स्वतन्त्र उम्मेदवार जसले एकै मतले मारे बाजी



महोत्तरी । थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ । दुई-तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, ‘ल, वडाध्यक्षमा गोलाकारभित्रको हँसिया हथौडा एक। एक मतले यो चिह्न बढ्यो ।

अब दुई मतमात्र गन्न बाँकी छ’, अर्को मतपत्र लिँदै ती कर्मचारी भन्छन्, ‘ल जेब्राको एक ।’ वडाध्यक्षमा मत बराबर हुन्छ । अब घोप्टिएको अन्तिम एकमात्र मतपत्र गन्न बाँकी छ । ब्यग्रता बढ्दैछ, सम्बन्धित उम्मेदवार र उमेद्वारका गणना प्रतिनिधिको । ‘ल, यो पनि वडाध्यक्षमा जेब्राको” कर्मचारीको यो भनाइले एकथरिमा खुसी र अर्को पक्षमा सन्नाटा छाउँछ । बर्दिवास नगरपालिका–१४ को मतगणनास्थलको दृश्य यो सोमबार रातीको हो।

हो, यस्तै ब्यग्रताबीच जेब्रा चिह्नका वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विजयकुमार महतोले नेपाली कांग्रेसका भरत हमाललाई एक मतले पछि पार्दै विजयी भए । महतोको प्राप्त मतमा अन्तिम मतपत्रले ५०८ पुर्यायो । हमाल ५०७ मै अड्नुभयो । एकै मतले विजयी १ जिल्लामा एकै मतले वडाध्यक्ष पद हात पर्ने महतोजस्तै अन्य दुई पनि छन् ।

बर्दिवास–७ मै यसअघि जेब्रा चिह्नकै रामसोगारथ यादवले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार सिंह कोइरीलाई पछि पारे । कोइरीले ७२६ र यादवले ७२७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरिसकेको छ । यो गणनामा पनि बर्दिबास–१४ कै जस्तो व्यग्र कौतुहलता भएको थियो । गणनास्थलका सबैको आँखा अन्तिम मतपत्रमै गडेको देखिन्थ्यो ।

यसैगरी गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा एकै मतले जित हात पार्ने अर्का भाग्यमानी जिल्लाकै महोत्तरी गाउँपालिका–१ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी छन् । उनी ३६६ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहम्मद अनामुल राइनले ३६५ मै अडेर हार बेहोर्न बाध्य हुनपर्यो । त्यहाँ पनि एकै मतले विजयी !

एकै मतले विजयी भएका तीनै जनाले ‘जनताको विश्वासको परिणाम’ भन्दै वडाका सबै जनतालाई काखापाखा नगरी सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अहिले व्यक्त मतको उच्च सम्मान गर्छु, जनताको सेवामा समर्पित हुन्छु’, बर्दिबास–१४ का नवनिर्वाचित वडाध्यक्ष महतोले भने । महोत्तरी–१ का चौधरी र बर्दिवास–७ कै यादवले पनि महतोको जस्तै प्रतिबद्धता जनाए ।

निर्वाचनमा होमिएका उम्मेदवारलाई हार वा जितको नतिजा स्वभाविक नै भए पनि एक मतको फरकले भने हार्नेलाई पिरोल्दो रहेछ । मतदानमा छुटेका कैयौँ आफन्तलाई सम्झँदै ‘उहाँ आउनुभएको भए त !’ भन्ने पनि भेटिएका छन् ।

सर्वसाधारणले पनि एक मतको हारजितलाई खास घटनाका रुपमा लिएका पाइएको छ । ‘जित्नै रहेछ, दुई अझै थपिएको भए त हुन्थ्यो नि १’ बर्दिबास–७ की मतदाता मुना खत्रीले भने, “एकै मतले भन्ने सुन्दा हार्ने र सुन्नेलाई ज्यादै थकथक लाग्ने रहेछ ।’ जिल्लामा अहिले मुस्किलले ४० प्रतिशत मतपरिणाम सार्वजनिक भएको छ । मतगणना जारी रहेका स्थानीयतहरुमा अझै एकै मतको विजयत्रात्रा हेर्न र देख्न पाइने सम्भावना रहेको प्रतिक्रिया दिने पनि भेटिएका छन् । ‘अझै यस्तो देखिन सक्छ तर कामना गर्छु, त्यस्तो नहोस्’ बर्दिवास-१४ का मतदाता सुकन महतोले भन्नुभयो, “जित्ने र हार्नेलाई कस्तो के लाग्यो कुन्नि १ मलाईचैँ अझै एकमतले रन्काइरहेको छ ।’ रासस


क्लिकमान्डु