बाह्रबिसेमा कांग्रेसका बालकृष्ण बस्नेत विजयी
काठमाडौं । बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले ७ हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमफुञ्जो शेर्पाले ५ हजार ४३३ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा कांग्रेसका मन्जु तामाङले ६ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले ५ हजार ९९० मत प्राप्त गरेका छन् ।
बलेफिमा माओवादी विजयी
यस्तै बलेफी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गङ्गाबहादुर तामाङले ४ हजार ६६६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले २ हजार १०५ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी भएका छन् ।
हेलम्बुमा कांग्रेस विजयी भएको छ । पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी अघि छ । सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस अघि छ ।
भोटेकोसीमा कांग्रेस विजयी
भोटेकोसी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्का दुई हजार ४८ र सुन्तलीमाया श्रेष्ठले दुई हजार ५५३ मत प्राप्त गरेकी छिन् ।