श्रीलंकामा विपक्षी पार्टीको समर्थन सरकारलाई, विशेष राहत बजेट ल्याइने



एजेन्सी । गम्भीर आर्थिक संकटमा फसेको श्रीलंकामा विपक्षी पार्टी समागी जाना बालवेगया (एसजेबी)ले सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको छ ।

एसजेबीले सोमबार देशमा गम्भीर आर्थिक तथा राजनीतिक संकटसँग जुध्नका लागि प्रधानमन्त्री रानिल बिक्रमसिन्धेको नेतृत्वको अन्तरिम सर्वदलीय सरकारलाई सशर्त समर्थन दिने निर्णय गरेको हो ।

एसजेबीले जारी गरेको बयानमा भनिएको छ, ‘हामी जिम्मेवार राजनीतिक पार्टीका रुपमा देशलाई वर्तमान आर्थिक संकटबाट बचाउनु निकै आवश्यक छ ।’

साथै, प्रधानमन्त्री रानिल बिक्रमसिन्धेले सोमबार देशका नाममा सम्बोधन समेत गरेका छन् । उनले तत्कालको संकट सम्बोधनका लागि विशेष राहत बजेट प्रास्ताव गर्ने योजना बनाएको बताएका छन् । नयाँ आउने बजेटले पहिले जारी भइसकेको बजेटको प्रतिस्थापन बजेटका रुपमा आउनेछ । साथै, पहिले विनियोजन भएको बजेट जनकल्याणका लागि खर्च गरिनेछ ।

श्रीलंकामा सोमबार राति ८ बजेदेखि मंगलबार विहान ५ बजेसम्म रात्रिकालीन कफ्र्यू लागू भएको थियो । प्रधानमन्त्रीले देशमा अधिकतम १५ घण्टासम्म लोडसेडिङ बढ्न सक्ने समेत बताएका छन् ।

प्रधानमन्त्रीका अनुसार हाल मुलुकमा एक दिनका लागि मात्रै पेट्रोल बचत छ ।

‘हामी अवस्था ठीक गर्ने प्रयास गरिरहेका छौं, हामीसँग अब एक दिनका लागि मात्रै इन्धन बाँकी छ,’ उनले भने ।

एक वर्षमा ४५ अर्ब डलरको घाटा बेहोर्ने श्रीलंकन एयरलाइन्सलाई अब निजी क्षेत्रलाई व्यवस्थापनको जिम्मेवारी दिइनेछ ।

‘हामी देशवासीसँग झुट बोल्न चाहन्नौं, अवस्था निकै खराब छ । केही समयसम्म हाम्रा अगाडि ठूलो चुनौती छ । तर म विश्वास दिलाउन चाहन्छु कि वर्तमान संकटको अवस्था छिट्टै ठीक हुनेछ,’ उनले भने ।

उनका अनुसार तीन आयल ट्यांकर कोलम्बो पोर्टमा राखिएको छ । साथै अहिले श्रीलंकाले डलरमा भुक्तानी गर्न नसक्ने अवस्था भएकाले तत्कालका लागि पेट्रोल र डिजल उपलब्ध हुन सकेको नसकेको उनले बताए ।

‘म देशबासीलाई २ महिना मेरो साथ दिनका लागि समेत अपिल गर्दछु, अहिले १४ लाख कर्मचारीलाई तलब दिनका लागि समेत पैसा छैन,’ उनले भनेका छन् ।


क्लिकमान्डु