२२ वर्षे नवनिर्वाचित पालिका प्रमुख भन्छन्- ५ वर्ष रामनगरमा ठूलो परिवर्तन देखिने छ



काठमाडौंको एपेक्स कलेजमा बीबीए ८औं सेमेस्टरमा अध्ययनरत २२ वर्षिय राजाबाबु यादव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट रामनगर गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । यादव कम उमेरमै स्थानीय तहको प्रमुखमा निर्वाचित हुने व्यक्ति समेत हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका काका नाता पर्ने हरिनन्द प्रसाद यादवलाई १ हजार ६८९ मतान्तरले पराजित गर्दै यादव विजयी भएका हुन् । उनी जनताले आफ्ना एजेण्डा मन पराएकै कारणले विजयी भएको बताउँछन् । निर्वाचनमा विजयी भएपछि राजाबाबुसँग क्लिकमाण्डूले गरेको संवाद ।

२२ वर्षकै उमेरमा गाउँपालिका प्रमुखमा विजयी हुनु भएको छ । कस्तो लागिरहेको छ ?

विगत ५ वर्षमा रामनगरमा केही काम भएको थिएन । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा केही काम गर्न सकेन । जनतालाई परिवर्तन चाहिएको थियो । हामी एजेण्डासहित निर्वाचनमा गएका थियौँ । जनताले हामीलाई विश्वास गर्नु भयो । म यसमा खुसी छु । अब मसँग निर्वाचन अघि गरेका प्रतिबद्धता अनुसार काम गर्नुपर्ने चुनौती छ । जनतासँग गरेका बाचाअनुसार काम गर्न सक्छु भन्नेमा म विश्वस्त छु ।

तपाईंका एजेण्डा के थिए ?
रामनगरमा अहिले पानीको राम्रो व्यवस्था छैन । सहरको बीचमा स्कुल खुलेको छ । शिक्षक भएका ठाउँमा विद्यार्थी छैनन् । विद्यार्थी भएका ठाउँमा शिक्षकको अभाव छ । स्कुलहरुमा पूर्वाधार पनि राम्रो छैन् । स्वास्थ्यका क्षेत्रमा विगतका स्थानीय सरकारले केही काम गर्न सकेनन् । सामान्य स्वास्थ्य उपचारका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता अझै पनि छ ।
सडक भएको ठाउँमा नाला छैन् । नाला भएको ठाउँमा सडक छैन् । खोलामा तटबन्ध नबन्दा बाढीको जोखिम छ । जनताले स्वच्छ पानी पिउन पाएका छैनन् । यी सबै क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनतासँग गरेका छु ।
युवालाई स्वरोजगार बनाउन काम गर्नुपर्नेछ । महिला, वृद्धबृद्धा सबैलाई विकास चाहिएको छ । प्रचारप्रसारका क्रममा हरेक घरमा पुगेर हामीले निर्वाचनमा विजयी भए यी सबै काम गर्ने जनतालाई बुझाएका थियौँ । उहाँहरुले हाम्रो एजेण्डा मन पराउनु भयो ।

५ वर्षमा तपाईंले गर्ने प्रमुख काम के–के हुन् ?
रामनगरमा गर्नुपर्ने ५०औं काम छन् । मेरो पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा सुधार गर्ने हो । त्यसपछि स्वास्थ्यका क्षेत्रमा हामी काम गर्नेछौं । खानेपानी, यातायात, सडक पूर्वाधारका क्षेत्रमा समेत काम गर्ने हाम्रो सोच छ । अबको ५ वर्षमा रामनगरका जनताले विकासको अनुभव गर्न पाउनेछन् ।

तपाईंले सबै काम गर्न सक्नुहुन्छ ?
पक्कै पनि सक्छु भन्ने विश्वास छ । रामनगरको जनताको विश्वासलाई खेर जान दिन्न । निर्वाचनका क्रममा जनताको घरमा पुगेर गरेका सबै प्रतिवद्धता पूरा गर्ने गरी काम गर्नेछु । रामनगरका जनताले मलाई मत दिएकोमा पछुतो मान्नुपर्ने अवस्था आउन दिने छैन् ।
जनताको विश्वासलाई धोका दिँदा पाप लाग्छ । शिक्षा, स्वास्थ्य, यातायात, सडक र खानेपानीका क्षेत्रमा तपाईं ५ वर्षपछि रामनगरमा आउनु भयो भने ठूलो परिवर्तन देख्नु हुनेछ ।

तपाईंसँग विगतमा काम गरेको कुनै अनुभव छैन । काम हुन्छन् भनेर कसरी विश्वास गर्ने ?
हाम्रो पूर्वजले पहिलेदेखि जनताका लागि काम गरेका छन् । युवा जोश र पूर्वजको अनुभवलाई मिलाएर काम गर्नेछु । मेरो परिवारका कैयौँ व्यक्ति पहिलेदेखि नै राजनीतिमा सक्रिय थिए । मैले राजनीतिज्ञका सीमा बुझेको छु । सबैको सहयोगमा काम गर्न सक्छु भन्ने विश्वास छ ।

आफ्नै काकालाई निर्वाचनमा पराजित गर्नु भयो कस्तो लागेको छ ?
मैले काकालाई पराजित गरेको होइन् । जनतालाई हाम्रो एजेण्डा मन पर्याे । जसले गर्दा हामीले बढी मत पाएका हौं । अब जनताको हितमा सबैसँग सहकार्य गर्दै काम गर्ने हो ।

रामनगरको विकास गर्नमा हाम्रो टीम सफल हुन्छु भन्ने विश्वास दिलाउन चाहन्छु । रामनगरमा कैयौं काम गर्नुपर्नेछ । ५ वर्षमा धेरैभन्दा धेरै काम गर्नेछौं । सबैबाट सहयोग हुन्छ भन्ने आशा छ ।


क्लिकमान्डु