भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, जजिरा र नेपाल एयरलाइन्सले गरे अवतरण



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।

बुद्ध जयन्तीको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याइएको हो । जसमा पहिलो अन्तर्राष्ट्रिय उडान कुवेतको जजिराले गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्दैछन् । यसका लागि नागरिक उड्ययन प्राधिकरण, एशियाली विकास बैंकलगायतका पदाधिकारीहरुको उपस्थिती छ ।

कुवेतको जजिरा एयरलाइन्स सोमबार विहान ७ बजेर ८ मिनेटमा भैरहवामा अवतरण गरिसकेको छ । त्यसअघि ६ बजेर ५५ मिनेटमा नेपाल एयरलाइन्सको न्यारोबडी पनि अवतरण गरिसकेको छ ।

जजिरा एयरलाइन्स दोहाबाट कुबेत ट्रान्जिट गरी भैरहवा आएको हो । विमानस्थलबाट व्यवसायिक उडान भने जेठ २१ गतेदेखि गर्नेछ ।

आइतबार, मंगलबार र बिहीबार कुवेत इन्टरनेशनल एयरपोर्टबाट भैरहवाका लागि उडान गर्नेछ । साथै, बुधबार, शुक्रबार र सोमबार भैरहवाबाट कुवेतका लागि उडान गर्ने तालिका रहेको नागरिक उड्ययन प्राधिकरणको भनाइ छ ।

त्यसैगरी नेपाल एयरलाइन्सको न्यारो बडीले पनि सोमबारदेखि नै काठमाडौं भैरहवा काठमाडौं उडान शुरु गर्नेछ ।


क्लिकमान्डु