बजार पूँजीकरणका आधारमा यी हुन् संसारका ठूला कम्पनी, कसको कति ?



एजेन्सी । संसारका ठूला भनिएका कम्पनीको बजार पूँजीकरण कस्तो होला ? उनीहरुको हरेक दिन हु ने सेयर कारोबारका आधारमा बजार पूँजीकरण निर्धारण हुन्छ । बजार उकालो लाग्दा बजार पूँजीकरण पनि बढ्छ, सेयर बजारमा कम्पनीको सेयर मूल्यमा ओरालो लाग्दा पूँजीकरणमा पनि गिरावट आउँछ ।

यस आलेखमा हामी बजार पूँजीकरण धेरै भएका विश्वका १० ठूला कम्पनीको बारेमा जानकारी दिन गइरहेका छौं । कम्पनीको सम्पत्ति कम होला, तर सेयर बजारमा ती कम्पनीको कूल सम्पत्ति भने अर्बौं, खर्बौं पनि हुन सक्छ ।

साउदी तेल कम्पनी आरामको बार पूँजीकरणका आधारमा शीर्ष स्थानमा छ । रुस र युक्रेन युद्धका कारण इन्धनको मूल्यमा भएको उच्च बृद्धिका कारण सो कम्पनीको बजार पूँजीकरण उकालो लागेको छ । पछिल्ला ४ महिनामा सो कम्पनीले अकूत कमाएको छ । पछिल्लो विवरण अनुसार सो कम्पनीको कूल बजार पूँजीकरणमात्रै २४२४ अर्ब अमेरिकी डलर बराबर छ । सो कम्पनीले रेभेन्यूमात्रै ३४१.९२ अर्ब डलर बराबर रहेको कम्पनी मार्केट डट कमले जनाएको छ ।

आइफोन निर्माता कम्पनी एप्पल बजार पूँजीकरणका आधारमा दोस्रो नम्बरमा छ । कोरोनालगायतका कारणले आम्दानीमा कम भएको बताइने सो कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट समेत आएको थियो । यद्यपी, सो कम्पनीको हाल बजार पूँजीकरण २३७१ अर्ब अमेरिकी डलर बराबर छ । सो कम्पनीले ३८६.०१ अर्ब डलर बराबरको रेभेन्यू आर्जन गरेको छ ।

माइक्रोसफ्ट

बजार पूँजीकरणका आधारमा तेस्रो नम्बरमा माइक्रोसफ्ट कम्पनी छ । कम्प्युटर तथा त्यससँग सम्बीन्धत सामग्री बनाउने सो कम्पनीको पछिल्लो बजार पूँजीकरण १९४८ अर्ब अमेरिकी डलबर बराबर छ । सो कम्पनीले १९२.५५ अर्ब डलर बराबरको रेभेन्यू आर्जन गरेको छ ।

अल्फाबेट (गुगल)

यस्तै, सर्च इन्जिनका रुपमा समेत परिचित अल्फाबेट कम्पनी चौथो नम्बरमा छ । यसलाई गुगलको पनि नाम दिइएको छ । सो कम्पनीले विभिन्न सेवा उपलब्ध गराइरहेको छ । सो कम्पनीको कूल बजार पूँजीकरण १४९९ अर्ब डलर बराबर छ । सो कम्पनीले रेभेन्यू मात्रै २७०.३३ अर्ब डलर बराबर आर्जन गरेको छ ।

अमेजोन

अनलाइन मार्केटका रुपमा संसारभर नै प्रसिद्ध एमेजोन कम्पनी बजार पूँजीकरणका आधारमा पाँचौं नम्बरमा छ । संसारभर नै अनलाइनमार्फत् सामान आपूर्ति गर्दै आएको सो कम्पनीको हाल बजार पूँजीकरण मात्रै १०७२ अर्ब डलर बराबर छ । सहजरुपमा सामान आपूर्ति गर्ने सो कम्पनीको व्श्विव्यापी हस्तक्षेपपछि व्यवसायमा समेत नयाँपनको शुरुवात भएको मानिन्छ । सो कम्पनीले रेभेन्यूमात्रै ४७७.७४ अर्ब डलर बराबरको आर्जन गरेको देखिन्छ ।

टेस्ला

संसारभर नै आरामदायी विद्युतीय सवारी साधन निर्माण गर्ने एलन मस्कको कम्पनी टेस्ला बजार पूँजीकरणका आधारमा छैटौ नम्बरमा छ । संसारभर नै सो कम्पनीको सवारी साधनको प्रयोग गर्न आम मानिस लालायितसमेत हुने गरेका छन् । पछिल्लो विवरणअनुसार सो कम्पनीको कूल बजार पूँजीकरण मात्रै ७६० अर्ब डलर बराबर छ । सो कम्पनीले ६२.१९ अर्ब डलर बराबरको रेभेन्यू आर्जन गरेको छ ।

वर्कसर हाथवे

बजार पूँजीकरणका आधारमा सातौ नम्बरमा वर्कसर हाथवे रहेको छ । सो कम्पनीको ६८७.७७ अर्ब डलर बराबरको बजार पूँजीकरण छ भने कम्पनीले ३५३.१६ अर्ब डलर बराबरको रेभेन्यू आर्जन गरेको छ ।

मेटा प्लेटफर्म (फेसबुक)

त्यस्तै बजार पूँजीकरणका आधारमा फेसबुक सञ्चालन गर्ने मेटा प्लेटफर्म आठौं स्थानमा छ । मार्क जुकरवर्गको सो कम्पनीले सामाजिक सञ्जालका अलावा सोही माध्यमबाट व्यवसायसमेत गरिरहेको छ । सो कम्पनीको कूल बजार पूँजीकरण ५३९.६० अर्ब डलर बराबर छ । कम्पनीले १२०.१८ अर्ब डलर बराबरको रेभेन्यू आर्जन गरेको छ ।

जोन्सन एण्ड जोन्सन

खोप निर्माता कम्पनीको रुपमा परिचित जोन्सन एण्ड जोन्सन पनि शीर्ष १० भित्र पर्ने कम्पनी हो । पछिल्ला दिनमा कोरोनाको खोपका कारण सो कम्पनीको आम्दानीमा पनि उल्लेख्य बृद्धि भयो । पछिल्ला विवरण अनुसार कम्पनीको कूल बजार पूँजीकरणमात्रै ४३६.४६ अर्ब डलर बराबर छ । सो कम्पनीले ९४.८८ अर्ब डलर बराबरको रेभेन्यू आर्जन गरेको छ ।

युनाइटेड हेल्थ केयर

स्वास्थ्य क्षेत्रमा काम गर्ने युनाइटेड हेल्थ केयर बजार पूँजीकरणका आधारमा १० औं नम्बरमा छ । सो कम्पनीको ४५६.०९ अर्ब डलर बराबरको बजार पूँजीकरण छ । कम्पनीले २९३.५१ अर्ब डलर बराबरको रेभेन्यू आर्जन गरेको जनाइएको छ । डीडब्लयूबाट


क्लिकमान्डु