आज स्थानीय तह निर्वाचन, १ करोड ७७ लाख मतदाताले जनप्रतिनिधि छान्दै
काठमाडौं । आज शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ ।
निर्वाचन आयोगका अनुसार १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन् । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले पनि मतदान गर्न सकिने आयोगले जनाएको छ । निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।
६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ ।
आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् । आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । निर्वाचनमा १ लाख ९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।
अलिहेसम्म निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गरेकी छन् ।
निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, सभामुखसहित राजनीतिक दलका शीर्ष नेताहरु आफ्नो मतदाता केन्द्रमा पुगेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा मतदानका लागि डडेलधुरा पुगेका छन् । प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्ने छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्ने छन् । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्ने छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । त्यसका लागि उनी सिन्धुपाल्चक पुगेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट मतदान गर्ने छन् ।
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन् ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविबाट मतदात गर्ने छन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।