बीमामा बिग मर्जरः प्राइम, युनियन र गुँरास लाइफ गाभिने



काठमाडौं । जीवन बीमा कम्पनीमा बिग मर्जर हुने भएको छ ।

बीमा समितिले चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याएपछि बिहीबार प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको हो ।

तीन वटै बीमा कम्पनी गाभिएपछि १ः१ अनुपातमा गाभिए भने कुल चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।

चैत मसान्तसम्म प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । यस्तै युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सको नाफा १८ करोड ९५ लाख ४३ हजार रुपैयाँ रहेको छ । नौ महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड ११ लाख ३७ हजार रूपैयाँ रहेको छ ।

यस्तै युनियन लाइफ इन्स्योरेन्सले चालु आवको ९ महिनामा २ करोड ७२ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ३४ करोड २९ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

यस्तै गुँरास लाइफ इन्स्योरेन्सले चैत मसान्तसम्म १३ करोड १६ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ६ करोड ३९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

कुन कम्पनीको लाभांश कति

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ मा १५.८७ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.८७ प्रतिशत रहेको छ । यस्तै गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ मा ५.७९ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ५.५ प्रतिशत र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नदल लाभांश दिएको छ । युनियन लाइफ इन्स्योरेन्स नयाँ कम्पनी भएका कारण लाभांश दिएको छैन ।


क्लिकमान्डु