बुध्द एयरले मे १५ देखि रात्रिकालिन हवाई उडान गर्ने



काठमाडौं । बुध्द एयरले विभिन्न गन्तव्यमा रात्रिकालिन उडान गर्ने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान गर्ने निर्णयलाई स्वागत गर्दै मे १५ तारिखदेखि रात्रिकालिन उडान सेवा विस्तार गर्न लागेको हो ।

बुध्द एयरका अनुसार तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालिन उडान गर्नेछन् ।

उडानका समयहरु राती ८ बजेदेखि र त्यसपछिका मात्र हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालिन उडान रहेको छ ।

दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुध्द एयरको भनाइ छ । रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।

बुध्द एयरले रात्रिकालिन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ ।

यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुध्द एयरले लिएको छ ।

बुध्द एयरले काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरि रात्रिकालिन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ ।

दोस्रो हव भैरहवा

हाल पोखरा विमानस्थललाई बुध्द एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसको प्रत्यक्ष फाइदा व्यापारिक र विशेषगरी पर्यटकहरुलाई पुगेको छ ।

अब बुध्द एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको छ ।

भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको छ ।

निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुध्द एयरको छ ।

उडानसँगै पर्यटकहरुका लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजमार्फत् होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको छ ।


क्लिकमान्डु