शोधनान्तर स्थिति २ खर्ब ६८ अर्बले घाटामा, चालु खाताको घाटा बढ्दै



काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको थियो ।

चालु खाता नौ महिनाको अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ । नौ महिनाको अवधिमा पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई ७ अर्ब ७८ करोड कायम भएको छ ।

खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु