इच्छाराज तामाङले ऋण नतिरेपछि सुन्धाराको सिटिसी मल लिलाम हुने



काठमाडौं । कर्मचारी सञ्चय कोषले सुन्धारामा रहेको सिटिसी मल लिलाम गर्ने भएको छ । कोषले घरजग्गा व्यवसायी इच्छाराज तामाङलाई सिटिसी मल धितो राखेर ऋण दिएको थियो । तामाङ अहिले ठगीको आरोपमा प्रहरी हिरासतमा छन् ।

सिभिल सहकारीका संचालक इच्छाराज तामाङले सिभिल स्टेट्स प्रालिको नाममा कोषबाट ऋण लिएका थिए ।

कोषले सूचना निकाल्दै सुन्धारा स्थित सिटिसी मलको १३२ वटा पसल कवलहरु लिलाम गर्नका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

कोषले काठमाडौँ महानगरपालिका–११ सुन्धारा स्थिति कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गामा निर्माण भएको ८२ हजार ९५ वर्गफीट बराबरको १३२ वटा इकाई पसल कवलहरु लिलाम गर्न लागेको हो ।

कोषका अनुसार सिभिल स्टेट्स प्रालिले कर्जा लिने ऋणीले म्यादभित्र कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लंघन गरेको भन्दै उक्त पसल तथा कवलहरु लिन इच्छुक नेपाली नागरिक, कम्पनी तथा फर्मलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

बोलपत्र पेश गर्दा खाम बाहिर ‘श्री सिभिल स्टेट्स प्रालि’ काठमाडौं जिल्ला कामनपा ११ सुन्धारास्थित कित्ता नम्बर ६२४ मा निर्माण भएको सिटिसी मलको पसल कवल खरिदका लागि सिलबन्दी बोलपत्र बन्ने उल्लेख गर्नुपर्ने छ ।

बोलपत्रदाताले बोलपत्र साथ आफुले आफुले कबोल गरेको रकमको १० प्रतिशत हुन आउने रकम धरौटी वापत जम्मा गर्नु पर्ने छ । बोलपत्र स्वीकृत भएको सूचना गरिएको मितिले ३० दिन भित्र कबोल गरेको सम्पूर्ण रकम बुझाई सक्नुपर्ने छ । उक्त समयभित्र सबै रकम नबुझाएमा धरौती रकम जफत हुनेछ । बोलपत्र पेश भईसकेपछि बोलपत्रमा उल्लेखित रकम वा शर्तमा कुनै हेरफेर हुने छैन ।

घरजग्गा व्यवसायी तामाङले सहकारीकर्ताको समेत पैसा तिर्न सकेका छैनन् ।


क्लिकमान्डु