एलसीमा मार्जिन व्यवस्थाले पनि घटेन सौन्दर्य वस्तुको आयात



काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिति घटेको भन्दै प्रतितपत्र (एलसी) मार्जिनको व्यवस्था गरेपनि सौन्दर्य वस्तुको आयात घटेको छैन ।

राष्ट्र बैंकले गत पुस ५ गते लागू गरेको शतप्रतिशत मार्जिनको व्यवस्था भए पनि चैत महिनामा उक्त वस्तुको आयात घटेको देखिदैन ।

गत पुसमा लागू गरिएको शतप्रतिशत मार्जिनको व्यवस्थाले चैतदेखि प्रभाव पर्ने सबैले बताउँदै आएका थिए । तर, चैत महिनामा पनि आयातमा कमी नआएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

भन्सार विभागका तथ्याङ्कअनुसार शतप्रतिशत मार्जिनको व्यवस्था गरेको सौन्दर्य वस्तु जस्तै लिपिस्टिक, क्रिम, नेल पोलिस, बडी लोसन, सिन्दुर र म्यानीक्युरवस्तु र कपालमा प्रयोग हुने वस्तु जस्तो कि स्याम्पु, कपालमा लगाउने तेल, कलर, क्रिम, कन्डिसनरको आयात कमी आएको छैन ।

नेपालले आयात गर्ने प्रमुख वस्तुको रुपमा सौन्दर्य वस्तु र कपालमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, कन्डिसनरलगायत कपालमा प्रयोग गर्ने कलरलगायत छन् ।

नेपालले वार्षिक ८ अर्ब बढीको आयात हुँदै आएको उक्त वस्तुको आयातमा कडाइ गर्दासमेत कुनै असर नदेखिएको जानकारहरू बताउँछन् ।

नेपालले चालु आर्थिक वर्षको ९ महिनामा मात्रै सौन्दर्य वस्तु करिब ७ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ । चैत महिनासम्म नेपालले ६ अर्ब ९६ करोड ८९ लाख रुपैयाँको सौन्दर्य वस्तु र कपालमा प्रयोग हुने वस्तुको आयात भएको छ ।

उक्त आयातित वस्तुबाट नेपालले २ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, राष्ट्र बैंकले गत पुसमा शतप्रतिशत मार्जिनको व्यवस्था गर्दासमेत चैत महिनामा मात्रै ७० करोड १८ लाख रुपैयाँ बराबरको सौन्दर्य वस्तु अर्थात् कस्मेटिक्स र कपालमा प्रयोग हुने वस्तु आयात गरेको छ ।

यसअघि फागुनमा भने नेपालले ६४ करोड ८० लाख रुपैयाँको मात्रै आयात गरेको थियो । फागुनको तुलना चैतमा झनै आयात बढेको देखिन्छ । जसमा सो चैत महिनामा ६ अर्ब बढी रकमको सो वस्तु भित्रिएको छ ।

त्यस्तै, नेपालले माघमा ६४ करोड ४१ लाख रुपैयाँ, पुसमा ७१ करोड ९३ लाख रुपैयाँ, मंसिरका ९८ करोड ४० लाख रुपैयाँ, कात्तिकमा ७९ करोड ६९ लाख रुपैयाँ, असोजमा ८५ करोड ५८ लाख रुपैयाँ, भदौमा ९२ करोड ९० लाख रुपैयाँ र साउनमा ६८ करोड ९६ लाख रुपैयाँको कस्मेटिक्सका सामग्री भित्रिएका छन् ।

उक्त वस्तुबाट विशेषगरी महिलालगायत अन्य धेरैलाई सशक्तिकरण र आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै आएको बिउटीशियन प्रोफेसनल एशोसियसन अफ नेपालले जनाएको छ ।

एशोसिएसनका अनुसार अहिले घरघरमा बिउटी पार्लर खोलेर महिलाहरूले रोजगारी प्रदान गरेसँगै आर्थिक रुपमा लाभ लिइरहेको जनाएको छ ।

हाल नेपालभर करिब ३ लाख ५० हजार पार्लर तथा शैलुन व्यवसाय रहेको एशोसियसनको भनाइ छ । उक्त क्षेत्रबाट ४ लाख बढीले रोजगारी प्रदान गर्दै आएको एशोसिएसनले जनाएको छ ।


क्लिकमान्डु