श्रीलंकामा डलरको मौज्दात ५ करोडमा झर्यो, संकट झनै गहिरियो



एजेन्सी । चरम आर्थिक संकटमा फसेको दक्षिण एशियाली देश श्रीलंका उठ्नै नसक्ने गरी संकटको डिलमा पुगेको छ ।

प्रकृति तथा साधन र स्रोतले सम्पन्न श्रीलंकासँग अमेरिकी डलर सञ्चिति जम्मा ५ करोड अमेरिकी डलरभन्दा कम छ ।

संकट बढ्दै जाँदा समाधानका लागि चालिएका सबै प्रयासहरु असफल भएका छन् । सरकारले अनेकन प्रयास गरेपनि सार्थकता पाउन सकेको छैन । कारण कुनै पनि उपाय प्रभावकारी बन्न सकेको छैन ।

श्रीलंकामा संकटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति निकै कम भएको श्रीलंकाका वित्तमन्त्री अलि सावरीले बताएका थिए ।

श्रीलंकाको संसदलाई सम्बोधन गर्दै सावरीले आर्थिक संकट नरोकेको खण्डमा त्यसले गम्भीर खतरा निम्त्याउन सक्ने बताएको कोलम्बो पेज नामक समाचार संस्थाले जनाएको छ ।

उनले करका दर घटाउने निर्णय गम्भीर गल्ती भएको बताएका थिए । अघिल्लो सरकारले करको दर घटाएको थियो ।

उनले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भेट गरी श्रीलंकाको मुद्रालाई थप अवमूल्यन हुनबाट जोगाउने उपाय खोज्नुपर्ने बताएका थिए ।

‘सबै सरकारले निर्भरताको मानसिकतामा काम गरे । यो लामो समयसम्म भएको ऋण बोझको परिणाम हो । कोलम्बो पेजले रिपोर्ट गरेझैं हाम्रो समयमा भएका गलत नीतिहरूले पनि यस्तो परिस्थिति सृजना गर्न मद्दत गरेको हुनसक्छ,’ उनले भनेका छन् ।

वित्तमन्त्रीले संसदलाई भविष्यमा आयकर दर बढाउनुपर्ने भन्दै आफ्नो राय संसदमा राखेका थिए । उनले जागिर खाने व्यक्तिहरुले आम्दानीको केही अंश राज्यका लागि योगदान गर्न पनि आग्रह गरेका छन् ।

समाज नै प्रभावित बनेको अवस्थामा कमाउनेहरूले केही योगदान गर्नैपर्ने उनको भनाइ थियो । उनले आगामी दुईदेखि तीन वर्षमा आम्दानी करलाई करिब १५ प्रतिशतले वृद्धि गर्नुपर्ने बताएका थिए ।

वित्तमन्त्रीले अन्तरराष्ट्रिय मुद्रा कोषसँगको वार्ताको प्रगति प्रतिवेदन संसदका सबै सदस्यहरूलाई वितरण गरिएको भन्दै सबैले आफ्नो स्थानबाट संकट टार्नका लागि योगदान गर्नुपर्ने बताए ।

यसैबीच, पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीका कारण परेको प्रभावले श्रीलङ्काको अर्थतन्त्र खस्किएको उनले दाबी गरेका थिए ।

श्रीलंकाले कम्तीमा पनि १० घण्टाको दैनिक विद्युत् कटौती गरिरहेको छ । त्यहाँको मुद्रा मार्च ८ तारिखपछि अमेरिकी डलरको तुलनामा श्रीलंकन मुद्रा ९० प्र्रतिशतले ओरालो लागेको छ ।


क्लिकमान्डु