नियामकले समयमै ध्यान नदिँदा तरलता समस्या भयोः महासंघ अध्यक्ष गोल्छा



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नियामक निकायले समयमै ध्यान नदिँदा तरलता अभाव भएको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उद्योगहरुमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने बताए । उनले सरकार राजस्वमुखी मात्रै बन्न नहुने समेत बताए ।

उनले निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताए ।

‘निजी क्षेत्र सरकारसँग हातेमाले गरेर अघि बढ्न चाहेको छ,’ उनले भने, ‘कोरोनापछि केही क्षेत्रबाहेक अन्य क्षेत्रमा सुधार भइरहेको छ जुन सकारात्मक हो ।’

उनले पछिल्लो समयमा नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको भनिए पनि त्यो बाटोमा नभएको बताए ।

‘अहिले तरलता, बीओपी, विश्वस्तरमा भइरहेको मूल्यवृद्धि र विद्युतमा समस्या देखिएको छ, जुन प्राथमिकताका समाधान गर्नु आवश्यक छ,’ उनले भने ।

उनले भुक्तानी सन्तुलनमा दबाब आएपछि सरकारले आफ्नो स्रोतमा ध्यान दिनुपर्ने बताए ।

‘यस्तो अवस्थामा रेमिट्यान्स बढाउन, निर्यात बढाउन र विदेशी लगानी बढाउने खालको नीति आवश्यक छ,’ उनले भने ।


क्लिकमान्डु