भ्याटमा बहुदर लागू गर्न र आयकरमा छुटको सीमा ८ लाख बनाउन महासंघको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आयकरमा छुटको सीमा व्यक्तिका लागि ७ लाख र दम्पत्तीका लागि ८ लाख गर्नुपर्ने माग राखेको छ ।

अहिले व्यक्तिगततर्फ वार्षिक ४ लाख र दम्पत्तीको हकमा साढे ४ लाखसम्मको आयमा १ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था छ ।

सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई महासंघको तर्फबाट बजेटमा सुझाव पठाउँदै महासंघले भ्याटमा बहुदरको पुरानो मुद्दा कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।

मेडिकल बीमा, जीवन बीमा, दुर्घटना बीमामा हुने १ एक लाख रुपैयाँसम्मको खर्चलाई आयकर छुटको व्यवस्था गर्नुपर्ने तथा पहिलो अपार्टमेन्ट वा घर खरिद गर्दा वार्षिक ५० हजारसम्म रकमको ब्याज खर्च लेख्न पाइने व्यवस्था गर्नुपर्ने माग महासंघले राखेको छ ।

संस्थागत आय करको दर घटाइनुपर्ने, बैंक तथा वित्तीय संस्था, बीमा, मनि ट्रान्सफरलाई लाग्ने संस्थागत आयकरको दर २५ प्रतिशत गर्नुपर्ने र पारिश्रमिक आयकरको वर्तमान स्ल्याव न्यूनिकरण गरी ५, १५, २५ प्रतिशत गर्नुपर्र्ने माग महासंघले राखेको छ ।

यस्तै आम्दानीको ४० प्रतिशत फेरि सोही कम्पनीमा लगानी गरे करछुट दिनुपर्ने माग महासंघको छ ।

महासंघले सुर्ती, मदिरा र सवारी साधन बाहेक अन्य सबै वस्तुहरुमा अन्तःशुल्कको दरलाई क्रमशः घटाउदै तीन वर्षभित्र शुन्य गर्नुपर्ने र प्याकेजिङ र सहायक कच्चापदार्थमा अन्तःशुल्क क्रेडिट पाउने व्यवस्था लागू गर्न सुझाव दिएको छ ।

मदिरामा हाल युपीको आधारमा अन्तःशुल्क लागि रहेकोले अल्कोहल कन्टेन्टको आधारमा समानुपातिक रुपमा अन्तःशुल्क लगाउनुपर्ने तथा औषधी तथा सेनिटाइजरको कच्चापदार्थको रुपमा प्रयोग गरिने इथानोलमा अन्तःशुल्क छुट गर्नुपर्ने (मदिरा सरह लागिरहेको) माग राखेको छ ।


क्लिकमान्डु