हकप्रद दिएर पुँजी बढाउन नसक्ने बीमा कम्पनी मर्जरमा जानुपर्नेः अध्यक्ष सिलवाल



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै पर्ने बताएका छन् ।

बीमकको पुँजी बृद्धि सम्बन्धी निर्जीवन बीमा कम्पनीसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पुँजी बृद्धिको निर्णय गरेको बताए ।

पुँजी वृद्धिका लागि सहजीकरण गर्न बीमा समिति तयार रहेको उनको भनाइ छ ।

‘बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ,’ अध्यक्ष सिलवालले भने, ‘पुँजी बढाउन सक्ने बीमा कम्पनीले बढाउनुपर्छ र नसक्नेले विकल्पहरु खोज्नुपर्छ।’

उनले बीमा कम्पनीहरूलाई मर्जरको दबाब नदिएको र कम्पनीहरूबाटै मर्जरको कुरा आएको बताए ।

‘बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो,’ सिलवालले थपे,‘ मर्जरको कुरा बीमा कम्पनीहरूबाटै आएको हो ।’

समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरुपमा लागू गरिने समेत उनले बताए ।
जसका लागि थप पुँजी आवश्यक पर्नसक्ने सिलवालले बताए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा सबै बीमा कम्पनीबाट पुँजी वृद्धिको योजना समितिमा प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार पुँजी वृद्धिका लागि कतिपयले हकप्रद सेयर, कतिपयले बोनस सेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेका छन् ।

बीमा कम्पनीको सङ्ख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको बताए ।

बीमा बजारलाई मर्यादित, सुशासित र दीगो बनाउने उद्देश्यले पुँजी वृद्धिको निर्णय भएको पौडेलले बताए ।


क्लिकमान्डु