काठमाडौं महानगरमा सृजना सिंहका सात ‘स’को संकल्प, यस्तो छ प्रतिबद्धता



काठमाडौं । काठमाडौं महानगरपालिकाका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी सृजना सिंहले सृजना सिंहका सात ‘स’ को संकल्प सार्वजनिक गरेकी छिन् । सिंहले आज एक कार्यक्रम गर्दै आफ्नो संकल्प सार्वजनिक गरेकी हुन् ।

सिंहले विभिन्न ७ वटा विधा विभिन्न कार्य गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले आफ्नो संकल्पको पहिलो प्राथमिकतामा सेवा र सुशासनलाई राखेकी छिन् । यदि महानगरपालिकाको मेयर बनेमा सिंहले महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने, भ्रष्टचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने, उत्कृष्ट पालिकाको रुपमा काठामडौं महानगरलाई स्थापित गर्ने र संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि का गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

त्यसैगरी, सिंहले स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षामा शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने, महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरूमा रोकथाम, परीक्षण, उपचार र पनस्र्थापनासहितको ‘शहरी स्वास्थ्य प्रवद्र्वन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने र जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता गरिन् ।

संकल्प ३ मा स्वच्छ सफा, दिगो पर्यावरणमा काठमाडौं महानगरलाई फोहोरबिहीन नगरपालिका बनाउने, पिउने योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनाको व्यवस्था गर्ने, सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनर्स्थापना तथा विस्तार गर्ने जनाएकी छिन् ।

सुरक्षित शहरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्ने र विपद थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्ने उल्लेख गरेकी छिन् ।

संस्कृति, सम्पदा, र सभ्यतामा मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसंग जोड्ने र गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्ने जनाएकी छिन् ।

सबल र समुन्नत पूर्वाधारमा सहज रुपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने,
महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

साथै, ७ संकल्पको ७ औंमा सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासीका लागि युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिने र उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाएकी छिन् ।


क्लिकमान्डु