इन्भेष्टमेन्टसँग मर्जर भाँडिएपछि अर्को बैंक खोज्दै हिमालयन, असारभित्रै सम्झौता हुन्छ: सीइओ राणा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडेपछि हिमालयन बैंकले अर्को वाणिज्य बैंकसँग मर्जरको प्रक्रिया अगाडि बढाएको छ ।

हिमालयन बैंकलाई राष्ट्र बैंकले अर्को वाणिज्य बैंकसँग मर्ज भएपछि मात्र अघिल्लो आर्थिक वर्षको नाफाबाट बाँडेको लाभांश वितरण गर्न पाउने शर्तसहितको पत्र दिएको छ ।

इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाडिएपछि दुबै बैंकले संयुक्तरुपमा डिमर्जको लागि राष्ट्र बैंकमा पत्र लेखेका थिए । इन्भेष्मेन्ट बैंकका सेयरधनीको भने लाभांश खातामा आइसकेको छ ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले राष्ट्र बैंकको निर्देशनअनुसार अर्को वाणिज्य बैंकसँग मर्जरको प्रक्रिया अगाडि बढाउने बताए ।

‘राष्ट्र बैंकको निर्देशनअनुसार अर्को बैंकसँग मर्ज गर्नुपर्ने बाध्यता छ, सेयरधनीलाई मर्कामा पर्न नदिन हामीले यो आर्थिक वर्षभित्र मर्जरको सम्झौता गर्ने छौं,’ राणाले भने, ‘त्यसका लागि २/३ वटा बैंकसँग घनिभूत छलफल भइरहेको छ ।’

राष्ट्र बैंकले हिमालयन बैंकको वार्षिक प्रतिवेदन स्वीकृत गर्दा नै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जानुपर्ने शर्त राखेको थियो । हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्टसँग मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।

गतवर्ष वैशाखमा हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता गरेका थिए । मर्जरमा जाने सम्झौता गरेपछि एकवर्षदेखि हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोकिएको छ । राष्ट्र बैंकले मर्जर तथा एक्विजेशन गरेर त्यो पूरा नगर्ने बैंक तथा वित्तीय संस्थालाई लाभांश बाँड्न रोक लगाउने, शाखा खोल्न नदिने, नियामकले दिने पुनरकर्जा लगायतका सुविधा नदिने तथा सञ्चालकलाई सचेत बनाउने कारवाही गर्छ ।

राष्ट्र बैंकले हिमालयनलाई अर्को वाणिज्य बैंकसँग मर्जर गरेपछि मात्र लाभांश बाँड्न सकिने शर्त राखेर इन्भेष्टमेन्ट बैंकसँगको डिमर्ज प्रक्रियालाई प्रमाणित गरिदिएको छ ।

मर्जर तथा एफपिओबिना बढाएको पुँजी र व्यवसाय

हिमालयन बैंक मर्जर तथा एक्विजेशन नगरेर अहिलेको स्थितीमा आएको हो । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमा मर्जर एक्विजेशन तथा एफपिओ जारी नगरेर पुँजी तथा व्यवसाय बढाउनेमा हिमालयन बैंक अगाडि छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राणा हिमालयन बैंकले अर्ग्यानिक ग्रोथ लिएर अगाडि बढेको बताउँछन् ।

‘हिमालयन बैंकलाई ब्याज आम्दानीमात्र भर परेर चलाउनुपर्ने बाध्यता छैन, नन फन्डिङ बिजनेशमा भर पर्नुपर्ने छैन,’ राणाले भने ।

पर्यटकको संख्या बढ्दै जाँदा हिमालयन बैंकले दिने ९ प्रकारका कार्डका सुविधाले आम्दानी बढाउने विश्वास राणाको छ ।

ट्रेडिङ आम्दानीबाट हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३२ करोड रुपैयाँ कमाएको छ । २७ वटा वाणिज्य बैंकमा पाँचौं स्थान हो ।

कुनैबेला हिमालयन बैंक निक्षेप र कर्जामा अगाडि थियो । इन्भेष्टमेन्ट बैंकसँग मर्जर भएको भए अहिले राणा आफैंपनि निक्षेप, कर्जा तथा नाफाको आधारसहित धेरै सूचकमा पहिलो भएको बैंकको सीइओ भएका हुन्थे । तर, मर्जर भाँडिएपछि कसरी व्यवसाय चलाउने भन्ने प्रष्ट योजना छ राणासँग ।

‘राष्ट्र बैंकको शर्तअनुसार अर्को बैंकसँग मर्ज गर्नु बाध्यता हो । यदि बाध्यता थिएन भने हामी मर्जरमा जाने थिएनौं । पुँजी बढाउनका लागि अब एफपिओमा जानुपर्ने हुनसक्छ,’ राणाले भने ।

हिमालयन बैंकमा अहिले १५ प्रतिशतमात्र सर्वसाधारणको लगानी छ । २० प्रतिशत सेयर स्वामित्व रहेको पाकिस्तानको हबिब बैंकले सेयर बिक्री गरेर बाहिरिन लागेको छ । बैंकको पुँजीकोष अनुपात १२.४० प्रतिशतमा झरेको छ । अब व्यवसाय गर्नका लागि बैंकलाई पुँजीको भने दवाव छ । यसका लागि बाध्यता र विकल्प मर्जर नै हो ।

यो वर्ष बिजनेशमा एग्रेसेभि, एक वर्षमा बढ्यो २४ अर्ब निक्षेप र कर्जा

अघिल्लो आर्थिक वर्षमा हिमालयन बैंकको व्यवसाय खासै बढेको थिएन । चालु आर्थिक वर्षमा भने बैंक व्यवसाय बढाउन आक्रामक देखिएको छ । चैत मसान्तको वित्तीय विवरणअनुसार बैंकसँग १ खर्ब ६५ अर्बको निक्षेप छ । एक वर्षमा बैंकले निक्षेप २४ अर्बले बढाएको हो । २०७७ साल चैत मसान्तमा बैंकसँग १ खर्ब ४० अर्ब निक्षेप थियो । २०७६ साल चैत मसान्तमा बैंकसँग १ खर्ब २५ अर्ब निक्षेप थियो ।
‘हामी यो वर्ष व्यवसाय बढाउन केन्द्रित भएका छौं, धेरै बैंकहरुले अघिल्लो वर्ष व्यवसाय बढाएका थिए,’ सीइओ राणाले भने ।

ऋणतर्फ हेर्ने हो भने हिमालयन बैंकले चैत मसान्तसम्म १ खर्ब ५० अर्ब ऋण दिएको छ । एक वर्षमा ऋणको आकार पनि २४ अर्ब रुपैयाँले बढेको छ । २०७७ साल चैत मसान्तमा १ खर्ब २६ अर्ब थियो । बैंकको खराब कर्जा अनुपात ०.९९ प्रतिशत छ ।

१० वर्षमा औसतमा २४.८२ प्रतिशत प्रतिफल

हिमालयन बैंकका सीइओ राणा प्रतिफलको आधारमा हिमालयन बैंक निकै अगाडि रहेको बताउँछन् । गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिनेमा आफूहरु दोस्रोमा रहेको बताए ।

‘अन्य बैंकको मर्जर तथा एक्विजेशन तथा एफपिओबाट प्रिमियम आएको छ, यी सबैकुरा नहुँदा पनि हिमालयन बैंकको औसत लाभांश अरु बैंकको भन्दा बढी छ,’ राणाले भने ।

१० वर्षमा बैंकले औसतमा सेयरधनीलाई २४.८२ प्रतिशत लाभांश दिएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत लाभांश दिएको छ । जसमा २१.३८ प्रतिशत बोनस सेयर तथा ४.६२ प्रतिशत नगद लाभांश दिएको छ ।

बैंकका सीइओ राणा आगामी वर्ष पुँजी बढेअनुसार प्रतिफल दिन सम्भव नभएपनि १५ प्रतिशत न्यूनतम प्रतिफल दिन सक्ने दाबी गर्छन् ।

कार्डमा अब्बल, ९ वटा नेटवर्कको कार्ड चल्ने

सीइओ राणा हिमालयन बैंक कार्डमा सबैभन्दा अब्बल भएको बताउँछन् । प्रविधिको दुनियाँमा शाखा खोलेर भौतिक उपस्थितिभन्दा प्रविधिको अधिकतम प्रयोग गरेर लाभ लिन सकिने उनको भनाइ छ ।

‘हिमालयन बैंक कार्डमा सबैभन्दा अब्बल छ, जुनसुकै देशका पर्यटक नेपाल आउँदा हिमालयन बैंकको कार्ड प्रयोग गरेर रकम झिक्न सक्छन्,’ उनले भने, ‘यो बैंक विभिन्न ९ वटा नेटवर्कसँग आवद्ध छ ।’

हिमालयन बैंक एससीटी, भिजा, डिस्कोभर, डिनर्स क्लव, मास्टरकार्ड, मेस्ट्रो, युनियन पे, जेसीबी र अमिेरिकन एक्सप्रेससँग आवद्ध छ । कोरोनाका कारण पर्यटकको आगमन निकै कम भएकाले कार्डबाट हुने आम्दानी खुम्चिएको भए पनि सामान्य अवस्थामा भने हिमालयनले कार्डबाट निकै ठूलो आम्दानी गर्छ ।

‘अबको हाम्रो फोकस भनेको प्रविधिमै हुन्छ,’ उनले भने ।

कम्प्लाइन्समा अब्बल

त्यस्तै, हिमालयन बैंक राष्ट्र बैंकले जारी गरेकार नीति निर्देशनको हुबहू पालना गर्ने बैंकको सूचिमा अग्रस्थानमा रहेको राणा बताउँछन् ।

‘हामी कम्प्लाइन्समा पनि अत्यन्तै अघि छौं,’ उनले भने, ‘जसले गर्दा केही कन्जरभेटिभजस्तो देखिएका हौं ।’

जनताको निक्षेप परिचालन गर्ने भएकाले बैंकिङ व्यवसाय नियामकको नीति निर्देशन हुबहू पालना गर्नुपर्ने उनको भनाइ छ ।

‘केही बैंकहरुले कम्प्लाइन्समा खेलेर आफ्नो आकारलाई बेलुनझैं फुलाएका छन्, त्यो जुनसुकै दिन पनि फुट्न सक्छ,’ राणाले भने, ‘हामी प्रुडेन्ट बैंकिङ गर्छौं । एउटै रफ्तारमा सँधै अघि बढिरहन्छौं ।’


क्लिकमान्डु