३ वर्षपछि ट्रायल हुनेले पनि यही वैशाखमै ट्रायल दिन पाउने, अफिस भिजिट गरी मिति सार्न सकिने



काठमाडौं । कोरोना महामारीका कारण लामो समयसम्म रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फास्ट ट्र्याकबाट वितरण गरिने भएको छ ।

करिब २ वर्षसम्म सहज तरिकाले लाइसेन्स वितरण गर्न नसकेपछि आगामी ३ वर्षसम्म मिति तोेकेको परीक्षार्थीहरूलाई छिटो र छरितो लाइसेन्स वितरण गर्ने उदेश्यले फास्ट ट्र्याकबाट वितरण गर्न लागिएको हो ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ७ लाखको हाराहारीमा लाइसेन्स लिनका लागि आवेदन दिएका छन् । उक्त परीक्षार्थीका लागि विभागले २०८१ असारसम्मको मिति तय गरेको छ ।

तर, लाइसेन्स वितरणमा निकै ढिलो भएपछि सरकारले नयाँ विधि अपनाएर सेवाग्राहीलाई सहजै लाइसेन्स वितरण गर्ने भएको छ ।

बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा ट्रायल दिने प्रणालीको व्यवस्था गर्ने गरी आवेदन प्रणाली खुला गर्ने गरी तयारी गरेको छ ।

यदि कुनै प्रनि सेवाग्राहीले लाइसेन्स लिनका लागि आवेदन दिएको छ । उक्त सेवाग्राहीको परीक्षा मिति २०८१ को असारमा तोकेको छ भने अहिले नै यातायात कार्यालय भिजिट मिति अगाडि सारेर परीक्षा दिई लाइसेन्स लिन पाउनेछन् । सेवाग्राहीले यातायात कार्यालय ठूलो भर्याङ, जगातीलगायतका कार्यालयमा गई २०८१ तोकेको मितिलाई वैशाखमै सार्न सक्नेछन् । जसमा सेवाग्राहीले छिटोभन्दा छिटो मिति सार्न सके हप्तादिनमै लाइसेन्स हात पार्न सक्नेछन् ।

त्यस्तै, विभिन्न यातायात कार्यालयहरूले यही वैशाख मसान्तसम्म अफिस भिजिट गरी मिति सार्ने सक्ने जनाएको छ । जसमा कतिपय कार्यालयल वैशाख २५ गतेसम्मको मिति तोकेको छ भने कतिपय कार्यालयले वैशाखमसान्तसम्मको मिति तोकेको छ । परीक्षार्थीले आफ्नो पायक पर्ने यातायात कार्यालयमा गएर तोकिएको मिति सार्न सक्ने व्यवस्था गरेको छ ।

‘यातायात व्यवस्था कार्यालयहरूले असारको २०८१ सम्म अफिस भिजिट मिति भएका सेवाग्राहीले बायोमेट्रिक दर्ता गरी अफिस भिजिटको मिति सार्न सक्नेछन्,’ यातायात कार्यालय ठूलो भर्याङ्ले जारी गरेको सूचनामा उल्लेख छ ।

अनलाईन फारम भर्दा पाएको अफिस भिजिटको मितिलाई सार्नका लागि कार्यालयहरूले तोकिएको समय बिहान ७ बजेदेखि ९ः३० बजेसम्म र १० बजेदेखि ३ बजेदेखि उपस्थित भई मिति सार्न सक्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २०७८ फागुन महिनासम्म अनलाइन फारम भरी २०८१ असारमसान्तसम्म अफिस भिजिट मिति भएका सम्पूर्ण सेवाग्राहीले वैशाख मसान्तसम्ममा दर्ता सम्पन्न गर्न सक्नेछन् । साथै, विशेष कारणले भिनिट मिति छुटेका सेवाग्राहीले बायोमेट्रि दर्ताको लागि आइतबारदेखि बुधबारसम्म कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

यातायात कार्यालय जगातीले भने आइतबारदेखि बुधबारसम्म कार्यालय आई मिति सार्न बायोमेट्रिक दर्ता गरी लिखित र तथा ट्रायल परीक्षामा सहभागी हुन सक्ने जनाएको छ ।

उक्त सेवाले गर्दा सेवाग्राहीले विचौलिया बिना सेवा पाउने कार्यालयहरूको दाबी छ । साथै, लाइसेन्स वितरण फास्ट ट्र्याकमार्फत् दिने तयारी गरेको कार्यालयहरूको भनाइ छ ।

यातायात कार्यालयहरूका अनुसार नयाँ लाइसेन्सका लागि सेवाग्राहीले अनलाइन फारम समावेश भई सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा ट्रायल दिन सक्नेछन् ।

कार्यालयहरूले अनलाइन प्रणालीमार्फत् तोकिएको कागजात प्रणालीमा समावेश गरी सहजै लाइसेन्स पाउने व्यवस्था गर्न लागेको जनाएको छ ।

करिब ७ लाखको हाराहारीमा लाइसेन्स लिनका लागि प्रतिक्षामा रहेका परीक्षार्थीले यही वैशाख मसान्ससम्ममा परीक्षा मिति तोकेर छिट्टै लाइसेन्स पाउनेछन् ।


क्लिकमान्डु