५४ खर्ब नेपाली रुपैयाँमा ट्वीटर बिक्री, विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले किने



टेस्लाका सीइओ एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका छन् ।

नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो ५४ खर्ब जति हुन्छ । ट्वीटरलाई खरिद गर्न मस्कले नेपालको अर्थतन्त्रको आकारभन्दा बढी पैसा लगाएका हुन् ।

ट्वीटरका स्वतन्त्र अध्यक्ष्ँ ब्रेट टेलरले प्रेस विज्ञप्ती जारी गर्दै ट्वीटर मस्कले किनेको जानकारी दिएका हुन् ।

मस्कले ट्वीटरको एक कित्ता सेयरको लागि ५४ अमेरिकी डलर खर्च गरेका छन् ।

यसअघि उनीसँग ९ प्रतिशत स्वामित्व ट्वीटरमा थियो । नयाँ सम्झौता अनुसार ट्वीटरको शतप्रतिशत स्वामित्व मस्कसँग रहेको छ । यो उनको प्राइभेट लिमिटेड कम्पनी बनेको छ ।

ट्वीटरका सेयरधनीलाई एक कित्ता बराबर ५४ अमेरिकी डलर मिल्ने छ । ट्वीटरको विश्वमा २० करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

ट्वीटरमा हरेक दिन ५० करोड ट्वीट हुन्छ । यसका ३८ प्रतिशत प्रयोगकर्ता युवा छन् ।

सन् २०२१ मा ट्वीटरले ५ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । ट्वीटर खरिद गर्ने मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग २ खर्ब ६९ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ ।


क्लिकमान्डु