एयर सेफे्टीमा नेपालको सुधार, औसतभन्दा ३% माथि, वैशाख १५ गतेदेखि राति १२ बजेसम्म उडान गरिने



काठमाडौं । हवाई सुरक्षामा नेपालले प्रगति गरेको छ । सोमबार नागरिक उड्ययन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै आइकाओले गरेको अडिटमा नेपालले विश्वको औसत अंकभन्दा ३ प्रतिशत बढी अंक प्राप्त गरेको छ ।

‘विश्वको औसत ६७.२ प्रतिशत छ, तर नेपालले यसपटक ७०.१ प्रतिशत अंक प्राप्त गरेको छ,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने ।

आइकाओले विभिन्न ८ क्षेत्रलाई आधार मानेर यही अप्रिल १३ तारिखदेखि २५ तारिखसम्म अडिट गरेको थियो ।

जसमा कानूनी, अर्गनाइजेसन,पर्सनल लाइसेनिङ, फ्लाइट अपरेसन, एयरवर्दिनेश, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउण्ड एड र एक्सिडेन्ट इन्भेस्टिगेसनलाई आधार बनाएको थियो ।

उक्त १० सदस्यीय सम्परीक्षक टोलीले २५ अप्रिलमा नतिजा सार्वजनिक गरेको थियो । जसअनुसार एशिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत छ भने विश्वको औसतदर ६७.२ प्रतिशत छ ।

‘यो क्यानको मात्रै होइन, क्यानको मात्रै हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी हुन्छ,’ महानिर्देशक अधिकारीले भने, ‘हवाई उड्डयन क्षेत्रसँग सम्बन्धित सबैले परिपालना गरेको आधारमा यो तथ्यांक निकालिन्छ ।’

वैशाख १५ गतेदेखि राति १२ बजेसम्म उडान
क्यानका अनुसार वैशाख १५ गतेदेखि सम्भव भएसम्मका सबै विमानस्थलमा राति १२ बजेसम्म हवाई उडान गरिनेछ । अहिले कतिपय विमानस्थलमा रातिमा उडान गर्न मिल्दैन तर सम्भव भएसम्मका सबै विमानस्थलमा वैशाख १५ गतेदेखि उडान शुरु गरिने महानिर्देशक अधिकारीको भनाइ छ ।

अहिले हवाई उडानमा यात्रुको चाप अत्यन्तै बढिरहेको भन्दै उनले यसलाई व्यवस्थापनका लागि पनि यो जरुरी भएक बताए ।


क्लिकमान्डु