शालिमार सिमेन्टको आम्दानी खस्कियो, ६ महिनामा १ अर्ब पनि आम्दानी नहुने



काठमाडौं । शालिमार सिमेन्ट प्रालिको आम्दानी कोरोना महामारीका कारण निरन्तर खस्किँदै गएको छ । सन् २०१९ को अन्त्यबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण शालिमार सिमेन्टको आम्दानी घट्दै गएको हो ।

कम्पनीले सन् २०१८ मा ३ अर्ब ३३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस वर्ष ३ अर्ब बढी आम्दानी गरेको कम्पनीले सन् २०१९ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

कम्पनीले सन् २०२० मा २ अर्ब २४ करोड ८० लाख रुपैयाँ आम्दानी ग¥यो भने सन् २०२१ मा २ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको उल्लेख छ । सन् २०२० को तुलनामा सन् २०२१ मा कम्पनीको आम्दानी बढे पनि सन् २०२२ को ६ महिनामा भने आम्दानी घट्ने अनुमान गरेको छ ।

कम्पनीअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९८ करोड १० लाख मात्रै आम्दानी हुने अनुमान छ । कम्पनीले गरेको प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा २ अर्ब पनि आम्दानी गर्न नसक्ने भएको छ ।

सिमेन्ट उद्योगले सन् २००३ देखि निरन्तर आम्दानीमा रेकर्ड कायम गर्दै आएको थियो । कम्पनीले ५० हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । बिक्री वितरणमा ठूलो हिस्सा रहेको कम्पनीको देशभर २२ डिलर रहेका छन् ।

कम्पनीले सन् २०२१ मा कोरोनाको ठूलो चुनौती रहेको बेलामा पनि २०२० को तुलनामा ९ प्रतिशतले आम्दानी बढाएको छ । कम्पनीले १५ प्रतिशत उत्पादन क्षमता बढाउँदासमेत पछिल्लो दिनमा आम्दानी घटेको उल्लेख गरेको छ । सन् २०२२ को ६ महिनामा पनि तरलता अभावले बैंकिङ क्षेत्रबाट कर्जा प्रवाहमा कडाइ गर्ने भएकाले सन् २०२१ कै हाराहारीमा आम्दानी हुने जनाएको छ ।

कम्पनी अनुसार विगत दुई वर्षको तुलनामा सन् २०२१ मा ३ प्रतिशतले मात्रै नाफा घटेको छ । सन् २०२१ भन्दा अगाडिको २ वर्षमा निरन्तर कम्पनीको नाफा ६ प्रतिशतले घटेको थियो ।

कम्पनीले सन् २०२२ मा भने आफ्नो कार्य क्षमतालाई बढाउने जनाएको छ । सन् २०२१ मा ३१ प्रतिशतले कार्य क्षमता बढाएकोमा सन् २०२२ को ६ महिनामा ५८ प्रतिशतले बढाएको छ । कम्पनीले सिमेन्ट उत्पादनसँगै विक्री गर्दै आएको छ । ५ लाख ४५ हजार १६० मेट्रिक टन ग्रान्डिङ सिमन्ट उत्पादन गर्ने क्षमता रहेको कम्पनी ५ वर्षदेखि शालिमार ग्रुपको पूर्ण स्वामित्वमा रहेको छ ।

कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट ७ ब्रान्डमा उत्पादन गर्दै आएको छ भने पीएससी सिमेन्ट ८ वटा ब्रान्डमा उत्पादन गर्दै आएको छ । शालिमार सिमेन्टको उद्योग बारा जिल्लाको पिपारा सिमारामा रहेको छ ।

रेटिङ एजेन्सी नेपालले कम्पनीलाई दीर्घकालीन र अल्पकालिन कर्जाका लागि १ अर्ब ६० करोड ६० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि २७ करोड ६० लाख रुपैयाँको एलबी प्सल रेटिङ र अल्पकालिन कर्जाका लागि १ अर्ब ३३ करोडको एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु