इन्डोनेसियाले पाम तेल निर्यातमा प्रतिबन्ध लगायो, नेपालको निर्यात घट्ने



काठमाडौं । विश्वको सबैभन्दा बढी पाम तेल उत्पादन गर्ने देश इन्डोनेसियाले पाम तेल निर्यातमा प्रतिबन्ध लगाउने भएको छ ।

इन्डोनेसियन सरकारले आन्तरिक बजारमै पाम तेलको मूल्य उच्च रुपमा बढेपछि आगामी अप्रिल २८ गतेदेखि निर्यातमा प्रतिबन्ध गर्ने घोषणा गरेको हो ।

सन् २०२१ मार्चमा इन्डोनेसियामा एक लिटर पाम तेलको मूल्य प्रतिलिटर इन्डोसियन मूल्य १४ हजार रुपैयाँ रहेकोमा अहिले २२ हजार रुपैयाँ पुगेको जनाएको छ ।

त्यसैले, इन्डोनेसियाका राष्ट्रपति जोको वीडोडोले शुक्रबार बोल्दै खाने पाम तेलको बढ्दो मूल्य नियन्त्रण गर्न प्रतिबन्ध गरेको बताएका छन् । उनले आन्तरिक उत्पादन हुने तेल स्वदेशमै खपत गर्ने र नीति कार्यान्वयनमा अनुगमन गर्ने रोयटर्सले जनाएको छ ।

रुस र युक्रेनको युद्धले गर्दा अन्तर्राष्ट्रिय बजारमा उपभोग्य वस्तुको हालसम्मकै उच्च मूल्यवृद्धि भएको छ । तर, हालै इन्डोनेसियन सरकारले पाम तेलमा प्रतिबन्ध लगाए झनै मूल्यवृद्धि हुने देखिएको छ ।

पाम तेल खाना पकाउनेदेखि विभिन्न कस्मेटिक्स, केकसम्म प्रयोग हुने भएकाले खाद्य वस्तुको मूल्य बढ्न सक्ने जनाएको छ । इन्डोनेसिया विश्वकै सबैभन्दा बढी पाम तेला उत्पादन गर्ने देश र निर्यात देश रहेको छ । उक्त देशले निर्यातमा प्रतिबन्ध गरे सबै क्षेत्रमा असर पुग्ने देखिएको छ ।

त्यसैगरी, इन्डोनेसियाले निर्यातमा प्रतिबन्ध गर्ने वित्तिकै नेपालको निर्यात घट्ने भएको छ । नेपालमा पाम तेल खपत कम हुन्छ । तर, नेपालले उच्च रुपमा आयात गरेर भारततर्फ निकासी गर्दै आएको छ । यसले गर्दा नेपालले आयात गरेर भारततर्फ निकासी गर्नेमा कमी आउने देखिन्छ ।

नेपालले ९ महिनाको अवधिमा ३२ अर्ब ५३ करोड ३८ लाख रुपैयाँ बराबरको २४ करोड १३ लाख ४१ हजार लिटर कच्चा पाम तेल आयात गर्दा इन्डोनेसियाबाट मात्रै २६ अर्ब ११ करोड १८ लाख रुपैयाँ बराबरको १९ करोड ९४ हजार लिटर आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । उक्त तथ्याङ्कअनुसार नेपालले इन्डोनेसियाबाट उच्च रुपमा पाम तेल आयात गर्दै आएको स्पष्ट पार्दछ ।

त्यस्तै, नेपालले सोही अवधिमा भारततर्फ ३६ अर्ब ३८ करोड ५६ लाख रुपैयाँ बराबरको १७ करोड ७५ लाख ७८ हजार लिटर पाम तेल निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

नेपालको व्यापारघाटा कम गर्न ठूलो योगदान रहेको पाम तेलको आयात गर निकासी गर्दै आएकोमा इन्डोनेसियाले प्रतिबन्ध गर्ने वित्तिकै पाम तेलको निर्यातमा असर देखिने भएको हो ।


क्लिकमान्डु