बिराटनगरका मेयर पराजुलीको ५ वर्षः तलब सुविधा समाजसेवामा, महत्वकांक्षी घोषणापत्र कार्यान्वयन भएन



काठमाडौं । पहिलो औद्योगिक नगर बिराटनगरका मेयर हुन् भीम पराजुली । ५ वर्षअघि नेपाली कांग्रेसले ६ वटा महानगरपालिकामध्ये जित निकालेका २ वटामध्येका एक हुन् पराजुली ।

कांग्रेसका संस्थापक बीपी कोइरालाको गृहनगरर बिराटनगर महानगर बनेपछि भएको पहिलो निर्वाचनमा कांग्रेसले जित निकाल्न सकेको थियो ।
१ नम्बर प्रदेशको एउटा महानगर र प्रदेश राजधानी बिराटनगर औद्योगिक ऐतिहासिक सहर हो ।

पराजुलीले २३ हजार ३ मत पाएर बिराटनगरको मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत पाए भने तेस्रो स्थानमा रहेका संघीय फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाए ।

यस्तै उपमेयरमा निर्वाचित इन्दिरा कार्कीले २० हजार १४६ मत पाएकी थिइन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११ हजार ५२३ मत पाएकी थिइन् ।

५ वर्षअघि मेयरमा उम्मेद्वारी दिँदै गर्दा पराजुलीले गरेको प्रतिबद्धता पूरा भएको भए बिराटनगरको स्थिती कस्तो हुने थियो होला ?

जोगवनीदेखि किमाथाङ्का सडक निर्माण सम्पन्न भइसकेको हुन्थ्यो । बिराटनगरमा सुविधा सम्पन्न चक्रपथ बनिसकेको हुन्थ्यो । तीन वर्ष अघि नै सुविधा सम्पन्न प्रदर्शनीस्थल निर्माण भइसक्ने थियो । रिक्सा, ठेला, इ–रिक्सा तथा टेम्पो चालकहरुका लागि सहुलियतपूर्ण ऋण र बीमाको व्यवस्था पनि भइसकेको हुने थियो ।

तर घोषणापत्रमा पूरा गर्नै नसकिने महत्वाकांक्षी योजनाले भर्दा उनी मेयरका रुपमा असफल प्रमाणित भएका छन् ।

उसो त काम नगरे पनि समय समयमा उनको चर्चा भने भइरहन्छ ।

पराजुली धार्मिक व्यक्ति छन् । कठोर ब्रत लिन्छन् । पराजुलीको चर्चा छठ पर्वमा विशेष हुन्छ । उनी छठमा व्रत बस्छन् साष्टाङ दण्डवत प्रणाम गर्दै (दुरी नापेर घस्रिँदै) छठ पुजा गर्ने स्थल(घाट)सम्म पुग्छन् ।

छठ पुजामा यसलाई निकै कठोर व्रत मानिन्छ । ५ वर्षको मेयरको कार्यकालमा उनले हरेक वर्ष छठ पुजा कठोर व्रत लिएर नै गरे । उनले महानगरको सम्बृद्धिका लागि कठोर ब्रत बसेपनि त्यस्तै खाले काम भने गर्न सकेनन् ।

महानगरपालिकाले कर मात्रै बढाउने काम गरेका कारण औद्योगिक नगरीमा निजी क्षेत्र पनि असन्तुष्ट छ ।

एशियाली विकास बैंकको सहयोगमा भएको पूर्वाधार विकासको काम देखिने खालको भएपनि सोचे अनुसार काम नभएको मोरङ व्यापार संघका उपाध्यक्ष अनिल शाह बताउँछन् ।

‘महानगरपालिकाले कर बढायो, निजी क्षेत्रको त्यसमा असन्तुष्टी हुने नै भयो, अर्को हिसाबले सोच्दा महानगरले आफ्नो स्रोत बढाएको छ, त्यो राम्रो छ,’ शाहले भने ।

उनले ५ वर्षको महानगरपालिकामा मेयरको कार्यकाललाई भने पूर्णरुपमा नकारात्मक भन्न नमिल्ने बताए ।

‘एडिबीको सहयोगमा भएपनि बिराटनगरमा बाटो राम्रो बनेको छ, अब आउने मेयरलाई त्यही आधारमा थप काम गर्नका लागि सजिलो हुन्छ,’ शाहले भने ।

पराजुलीले निर्वाचनमा लड्दै गर्दा स्थानीय तहले गर्न नसक्ने काम नै गर्छु भनेको हुँदा काम नभएको जस्तो देखिएको कांग्रेसका नेताहरु बताउँछन् ।

‘मेयरले गर्न सक्ने मात्र प्रतिबद्धता निर्वाचन अगाडि व्यक्त गर्नुपर्नेमा केन्द्र सरकार जसैगरी योजना अघि सार्दा समस्या भएको हो,’ एक कांग्रेस नेताले भने ।
पराजुलीले असम्भव खालका जेष्ठ नागरिक तथा एकल भत्तालाई बढाउने समेत योजना सारेका थिए ।

सरकारमा सहभागी ५ दलको गठबन्धनले बिराटनगरपालिकाको मेयरमा कांग्रेस नै लड्न सहमति भएको छ । ५ वर्ष मेयर भएर काम गरेका पराजुली पुनः मेयर पदमा दोहरिन चाहेका छन् ।

उनले कांग्रेसबाट मेयर जितेको र कम्युनिष्ट सरकार भएको कारण बिराटनगरलाई सहयोग हुन नसकेको बताए । पराजुलीले ५ वर्षमा पाएको तलब सुविधा समाजसेवामा खर्च गरेको बताउँछन् ।

‘आध्यात्मिक मान्छे भएको हुँदा मेयरको रुपमा पाउने तलब सुविधालाई समाजसेवामा खर्च गरेको छु, ५ वर्षको कार्यकालमा कोही वडा अध्यक्षले असहमति जनाएनन्,’ उनले भने ।

आफ्नो कार्यकालमा देखिने गरी काम गरेको पराजुली दाबी गर्छन् ।

महानगरपालिका भएपनि कांग्रेस जितेको हुँदा बजेट कम आएको तथा विकासको रोडम्याप तयार भएको दाबी उनको छ ।

उनले ५ वर्षमा १५ वटा वडा कार्यालय बनेको, तारिणीप्रसाद कोइराला सञ्चार ग्राम, सुशीला कोइराला गुरुकुल तथा लगायत पूर्वाधार क्षेत्रमा देखिने गरेर काम भएको बताउँछन् ।

यसबाहेक पराजुलीले छोरी पढाउ, छोरी बचाउँ अभियान चलाएर पहिलो सन्तान छोरी हुनेलाई ३ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यक्रम अगाडि सारेका थिए ।

कोभिड शुरु हुनुअघि पराजुली विदेश भ्रमणमा मात्र बढी गएको तथा कांग्रेसबाट नै निर्वाचन जितेकी उपमेयर कार्कीसँग समेत समन्वयन नगरेको आरोप समेत खेप्नु पर्यो ।

बिराटनगर महानगरपालिकामा बहुमत वडा अध्यक्ष कांग्रेसले जितेको थियो । कांग्रेसको नगरसभामा बहुमत भएपनि समन्वयन गर्न नसक्दा पराजुलीको आलोचना भएको हो । तर, कांग्रेस बाहेकबाट जितेका वडा अध्यक्षले समेत लिखित रुपमा भने पराजुलीको विरोध नगरसभामा गरेनन् ।

पराजुलीले काम गर्न नसकेको आरोप प्रतिपक्षीले लगाए पनि उनी अनियमितामा भने मुछिएनन् । उनले गरेको प्रतिबद्धता थियो सुशासन र समृद्धिको आधार भ्रष्टाचारमुक्त विराटनगर । जसमा पराजुलीको संकल्प थियो, ‘म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न ।’

५ वर्षको पराजुलीको कार्यकालमा बिराटनगरमा बाढी आयो । जसमा महागनरले राम्रोसँग काम गर्न नसकेको समेत आरोप थियो । बाढी आएपछि राहतको काम आफूहरुले गरेको दाबी पराजुलीको छ ।

संघीयतामा गएपनि केन्द्रीय मानसिकता र कर्मचारी व्यवस्थापनले काम गर्न मेयरहरुलाई असजिलो हुने अनुभव उनीसँग छ ।

‘संघीय सरकारको केन्द्रीय मानसिकता एउटा समस्या हो, संविधानले दिए अनुसारको काम गर्न केन्द्रिय मानसिकताले समस्या हुँदा समेत धेरै काम गर्न सक्यौ,’ पराजुलीले भने ।

पराजुलीले बिराटनगर राष्ट्रले गौरव गर्ने सहरको रुपमा विकसित हुने दाबी थियो । एडिबीको सहयोगमा भनेको बाटोले बिराटनगर फिलगुड सहरको रुपमा भने चिनिएको छ ।

व्यवसायिक घराना गोल्छा अर्गनाइजेशनका सुरेन्द्र गोल्छा पछिल्लो दशकमा बिराटनगरको फिल सहरको जस्तो आउने भएको बताउँछन् ।

औद्योगिकरणको सुरुवात बिराटनगरले गरेपनि त्यो अहिले पश्चिमा सिफ्ट भइसकेको छ । जुन काम मेयर एक्लैले चाहेर भने गर्न सक्दैनन् ।


क्लिकमान्डु